Online Bichar
बुधबार, भाद्र १०, २०८३ | Wednesday, August 26, 2026

काठमाडौं, १० भदौ २०८३ । चीनको तिब्बततर्फबाट भोटेकोसी नदीमा ठूलो बाढी आएपछि चितवनमा उच्च सावधानी अपनाइएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले त्रिशुली नदीमा आएको बाढीबाट जोखिम हुन नदिन उच्च सावधानी अपनाइएको बाह्रखरीसँगको कुराकानीमा बताए । उनका अनुसार अहिलेसम्म चितवनमा कुनै क्षतिको अवस्था छैन । संभावित खतराबाट सुरक्षित रहन उच्च सतर्कता अपनाउन सबैतिर सूचना प्रवाह गरिएको छ ।

‘बाढी चितवनको माथिल्लो खण्डमा प्रवेश गरिसकेको छ । हामीले हेर्दा क्षति हुनसक्छ भन्ने कुरामा सतर्क छौँ,’ अर्यालले भने, ‘हामी एकदम सतर्क छौँ । त्यही किसिमको पूर्वतयारी गरेका छौँ । चितवनको बहाव क्षेत्र अलिकति चौडा भएको हुनाले यहाँ त्यो तहको क्षति हुँदैन कि भन्ने हाम्रो अनुमान छ ।’

अर्यालले सुरक्षा सतर्कताका लागि पूर्वतयारीका काम सबै गरिएको पनि बताए । तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क गराइसकेको पनि उनले जानकारी दिए ।

‘तटीय क्षेत्रका बासिन्दाहरूलाई स्थानान्तरण गरिसकेका छौँ । गाडीको आगमन रोकिएको छ । सुरक्षा निकायहरू सबै तयारीसहित परिचालन भएको अवस्था छ,’ अर्यालले भने, ‘देवघाट र नारायणघाट क्षेत्रमा पनि त्यस्तो केही नहोला । सतर्कताको अवस्था मजबुत छ । चितवनको हकमा त्यो तहको क्षति हुँदैन भन्ने हाम्रो आँकलन हो ।’

जिल्ला प्रशासन कार्यालय चितवनले त्रिशूली नदीमा आकस्मिक बाढी आई बहाब बढेको र विपद्को जोखिम हुनसक्ने सम्भावना बताउँदै त्रिशूली नदी एवं नारायणी नदीमा माछा मार्ने, अन्य काम गर्ने व्यक्ति, मजदुरलाई नदी किनारमा नजान सूचनामार्फत सजग गराएको छ ।

कुनै काम विशेषले नदीमा गएको भए तत्काल सुरक्षित स्थानमा फर्किन सूचनामा भनिएको छ । त्रिशूली र नारायणी आसपासका क्षेत्रमा बसोबास गर्ने जनसमुदाय, आसपासमा निर्माणाधिन तथा सञ्चालित आयोजनाहरू, नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूलाई आवश्यक पूर्वतयारी एवम् सावधानी अपनाउन पनि सजग गराइएको छ ।

स्थानीय तहहरूले नदी किनारमा बसोबास गर्ने स्थानीय व्यक्तिहरूलाई सुरक्षित स्थानमा सार्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । ूनदी किनारका वस्ती तथा बाढी पहिरोको दृष्टिकोणबाट जोखिमपूर्ण स्थानमा बसोबास गर्नुहुने महानुभावहरु तत्काल सुरक्षित स्थानमा सर्नुहोला,ू प्रशासनको सूचनामा भनिएको छ ।

स्थानीयलाई आकस्मिक सहयोगका लागि समस्या नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, जिल्ला आपतकालीन केन्द्र, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय, चितवनमा सम्पर्क गर्न भनिएको छ ।

 

तपाईको प्रतिक्रिया