काठमाडौं, ३१ असार २०८३ । नेपालमा रासायनिक मलको आपूर्ति सहज बनाउन सरकारले खरिद गरेको रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा आइपुग्ने क्रम जारी रहेको छ ।
हाल ३० हजार मेट्रिकटन डीएपी मल भारतको विशाखापट्टनम बन्दरगाहमा र २७ हजार मेट्रिकटन डीएपी मल भारतको कोलकत्ता बन्दरगाहमा आइपुगेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।
दुवै पोर्टमा हाल प्याकिङ भइरहेको, विशाखापट्टनम पोर्टबाट मल रेकमा लोड भइ हिजो हिँडेको र कलकत्ताबाट पनि छिट्टै मल लोड हुने क्रममा रहेको मन्त्रालयले जानकारी दिएको छ ।
साथै, सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत खरिद गरिएको अर्को डीएपी मल साउन ३ गते (१९ जुलाई) कोलकाता बन्दरगाहमा आइपुग्ने तालिका रहेको छ ।
त्यस्तै, युरीया मल लोड भएका जहाजहरू साउन १ गते (१७ जुलाई) कोलकाता बन्दरगाहमा आइपुग्ने तालिका छ ।
हाल मल वितरक दुवै कम्पनीसँग मौज्दातमा रहेका मलहरू मल वितरण व्यवस्थापन कार्यविधिबमोजिम बिक्री वितरण भैरहेको मन्त्रालयले जनाएको छ ।
कोलकाता बन्दरगाहमा आइपुगेका र आउने क्रममा रहेको मललाई आवश्यक भन्सार तथा ढुवानी प्रक्रिया पूरा गरी चरणबद्ध रूपमा नेपाल भित्र्याइने मन्त्रालयले जनाएको छ ।
कृषि उत्पादन बृद्धिमा किसानलाई आवश्यक पर्ने रासायनिक मल समयमै उपलब्ध गराउन आपूर्ति व्यवस्थापन र समन्वयलाई तीव्र बनाइएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।






