Online Bichar
मंगलबार, आषाढ २३, २०८३ | Tuesday, July 7, 2026

काठमाडौं, २३ असार २०८३ । देशका विभिन्न ११ जिल्लामा फैलिएको घातक पन्छी रोग ‘बर्डफ्लु’ ७ वटा जिल्लामा पूर्णरूपमा नियन्त्रणमा आएको छ ।

पशुसेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको हो । यद्यपि, उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने यो रोग अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । विभागले यी चार जिल्लालाई अझै पनि निगरानीमा राखेको छ ।

रोग नियन्त्रणका लागि विभागले प्रभावित क्षेत्रमा विशेष प्राविधिक टोली परिचालन गरेको थियो । उक्त टोलीले सङ्क्रमित क्षेत्रका पन्छी, अण्डा, दाना तथा पन्छीजन्य अन्य सामग्रीहरू नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता डा। मुकुल उपाध्यायले जानकारी दिए ।

सङ्क्रमण फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयहरूले सीमा नाका र अन्य क्षेत्रमा उच्च सतर्कता अपनाउँदै अवैध रूपमा ओसारपसार गरिएका पन्छीहरू समेत बरामद गरी नष्ट गरेको थियो ।

हाल केही जिल्लामा अवस्था सामान्य बन्दै गएपछि पन्छीको ओसारपसारमा गरिएको कडाइलाई केही खुकुलो बनाइएको विभागले जनाएको छ ।

उच्च मृत्युदर भएको यो संक्रामक रोगलाई थप फैलिन नदिन संघ प्रदेश र स्थानीय तहबीच समन्वय गरी जनशक्ति परिचालन गरिएको प्रवक्ता उपाध्यायले बताए ।

विभागले पन्छीपालक किसानहरूलाई जैविक सुरक्षामा विशेष ध्यान दिन र शंकास्पद लक्षण देखिएमा तुरुन्त जानकारी गराउन समेत आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया