काठमाडौं, २३ असार २०८३ । विगत दुई सातादेखि काठमाडौंको माइतीघरमा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँगको वार्तापछि स्थगन गरिएको छ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा आन्दोलनरत पक्षसँग भएको छलफलपछि दृष्टिविहीन समुदायले उठाएका माग सम्बोधनका निम्ति आवश्यक पहल गर्ने सहमति भएको हो ।
दृष्टिविहीन समुदायका माग सम्बोधन नभएसम्म उनीहरूका कला एवं सांगीतिक प्रस्तुति र जीविकोपार्जनका गतिविधि साबिककै स्थानमा कुनै अवरोध वा रोकछेक नगरी निरन्तर सञ्चालन गर्न दिने सहमति भएको छ ।
वार्ताका क्रममा दृष्टिविहीन समुदायले उठाएका माग सम्बोधन गर्न महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले युवा, श्रम तथा रोजगार, स्वास्थ्य तथा खाद्य स्वच्छता र शिक्षा तथा खेलकुद मन्त्रालयसँग आवश्यक समन्वय गरी समाधान प्रक्रिया अघि बढाउने सहमति भएको छ ।






