Online Bichar
मंगलबार, आषाढ २३, २०८३ | Tuesday, July 7, 2026

झापा, २३ असार २०८३ । झापाको कमल गाउँपालिका–३ मा कोब्रा सर्पले टोकेपछि एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका–३ निवासी ज्ञानबहादुर लिम्बुकी श्रीमती अन्दाजी ४० वर्षीया सरस्वती मगर लिम्बु रहेकी छन्।

प्रहरीका अनुसार सोमबार साँझ करिब ७ः५० बजे आफ्नै घरको भान्सा कोठामा खाना पकाउने क्रममा उनलाई कोब्रा सर्पले टोकेको थियो। सर्पले टोकेपछि उपचारका लागि नेपाल रेडक्रस सोसाइटी, दमक लगिएको थियो।

घटनाबारे राति १०ः२५ बजे इलाका प्रहरी कार्यालय दमकमा जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल तथा उपचारस्थलमा पुगेको थियो। उपचारकै क्रममा राति १०ः४० बजे चिकित्सकले सरस्वतीलाई मृत घोषणा गरेका थिए।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया