Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

काठमाडौं, १८ असार २०८३ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि अनुसन्धान गर्न पुनः ६ दिन म्याद थपिएको छ । बिहीबार (असार १८)  विशेष अदालतले तेस्रोपटक म्याद थपेको हो ।

विशेषका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासबाट म्याद थपिएको अदालत प्रशासनले जनाएको छ ।

“सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि पेस भएकोमा आज ९बिहीबार० तेस्रोपटक ६ ९छ० दिन म्याद थप भएको छ,” अदालतको सूचनामा उल्लेख छ ।

पौडेल हाल न्यायिक हिरासतमा छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका निम्ति उनलाई अदालतमा पेस गरेको थियो ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) को कसुरमा अनुसन्धानका निम्ति उनलाई प्रहरीले पक्राउ गरी विभागमा बुझाएको थियो । यही असार ८ गते उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो ।

विशेष अदालतले पौडेललाई थुनामै राखेर अनुसन्धान गर्न पहिलोपल्ट सात दिन म्याद दिएको थियो । त्यसपछि असार १५ गते तीन दिन म्याद थप गरेको थियो ।

हाल ललितपुरको सानेपास्थित प्रहरी हिरासतमा रहेका पौडेलमाथि श्रीराम टोबाको प्रालिको २० प्रतिशत सेयर हिमालयन एसेट म्यानेजमेन्टलाई सस्तो मूल्यमा बेच्न दबाब दिएर लाभ लिएको आरोप लगाइएको छ ।

उक्त कम्पनीमा इन्फिनिटी होल्डिङ्सको शतप्रतिशत लगानी छ । त्यो कम्पनी सम्पत्ति शुद्धीकरण कसुरमै पक्राउ परी अनुसन्धानकै क्रममा रहेका दीपक भट्टको हो । भट्टको सम्पत्तिमा पौडेल जोडिएपछि उनी अनुसन्धानमा तानिएका हुन् । विभागले थप छानबिन गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया