काठमाडौ, १५ असार २०८३ । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप प्रयोजनका लागि सोमबार पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले ३ दिन थुनामा राख्न म्याद थप गरेको हो । पौडेल गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए ।
पौडेलका कानुन व्यवसायी समेत रहेका विशेष अदालत बारका अध्यक्ष टिका कुँवरले दुईतर्फी बहस सकिएपछि इजलासबाट तीन दिन थुना म्याद थप्न आदेश भएको जानकारी बाह्रखरीलाई दिए । अर्थमन्त्री रहेका बेला व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा अनुसन्धानका लागि पौडेललाई पक्राउ गरिएको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि अनुसन्धान गरिरहेको छ । यसअघि पौडेललाई गत असार ९ गते ७ दिन थुना म्याद थपिएको थियो । पौडेलपत्नी दोमाया पौडेलले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले विभाग र प्रहरीसँग लिखित जवाफ माग गरेको छ ।






