झापा, ९ असार २०८३ । थोरै वन क्षेत्र र उच्च जनघनत्वका कारण मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएपछि झापामा बृक्षारोपण कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
कुल क्षेत्रफल १६०६ वर्ग किलोमिटर रहेको झापामा जम्मा वन क्षेत्र १८०६५ हेक्टर मात्र रहेको छ । जुन ११.२४ प्रतिशत हो । तर, जिल्लाको जनसंख्या अत्यधिक बढ्दो क्रममा छ । हाल ९ लाख ९८ हजार ५४ जनसंख्या रहेको झापामा तीब्र बसाइँसराइ भइरहेको छ । आन्तरिक र सीमापारबाट आएर बसोबास गर्ने जटिलता देखिएको छ ।
नेपालको वन क्षेत्र करिव ४६ प्रतिशत रहेको छ। वन तथा वातावरण मन्त्रालयका अनुसार नेपालको वन क्षेत्र शून्य दशमलव ७५ प्रतिशत बढेर ४६ प्रतिशत नाघेको हो।नेपालले वन क्षेत्र विनाशलाई सन् २०३० सम्म शून्यमा झार्ने र वन क्षेत्र ५० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।
त्यस लक्ष्य हासिल गर्न झापामा गाह्रो देखिएको छ । मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्वलाई मध्यनजर गरी बृक्षारोपण कार्यक्रमलाई प्राथमिकताका अगाडि बढाइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । यस वर्ष सामुदायिक वनहरुसंग समन्वय गरी करिव ५० हेक्टर खाली जमिनमा बृक्षारोपण गरिने डिभिजन वन कार्यालयका वन अधिकृत रामभक्त यादवले बताए । राष्ट्रिय वन विकास तथा व्यवस्था कार्यक्रमअन्तर्गत तारवारसहित १५ हेक्टर, नमूना बृक्षारोपण कार्यक्रमअन्तर्गत २० हेक्टर , प्रदेश सरकारको वन विकास तथा जडीबुटी प्रवद्र्धन कार्यक्रमअन्तर्गत ४ हेक्टर ,कृषि वन तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत ४ हेक्टरमा बृक्षारोपण गरिने वन अधिकृत यादवले जानकारी दिए ।
झापाका पाँचवटा नर्सरीमा यस वर्ष करिव २ लाख बिरुवा उत्पादन गरिएको छ । डिभिजन वन कार्यालयको नर्सरी चन्द्रगढी , सव डिभिजन नर्सरी मेची बहुवन , जलथल सव डिभिजन रंगियाडाँडा, दमक सव डिभिजन झिलझिले , कन्काई सव डिभिजन सुरुङ्गामा विभिन्न प्रजातिका बिरुवाको नर्सरी राखिएको छ ।
त्यसबाहेक डिभिजन वन कार्यालयले करिव १० लाखको बाँसको बिरुवा र करिव १० लाखको फलफूलको बिरुवा खरिद गरी निःशुल्क वितरण गर्ने भएको छ । जंगली हात्तीबाट जोगिन हात्ती प्रभावित क्षेत्रमा बाँसको बिरुवा बितरण गरिने यादवले जानकारी दिए । उनका अनुसार यस वर्ष श्रीखण्डको बिरुवा पनि बितरण गरिने भएको छ ।






