Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

विराटनगर, ९ असार २०८३ । मोरङको विराटनगरस्थित नेपाल आयल निगमको कोसी प्रादेशिक कार्यालयको पार्किङस्थलबाट हराएको पेट्रोल ट्यांकर बेवारिसे अवस्थामा भेटिएको छ । को१ख ६१९० नम्बर रहेको नवीन ढुवानी सेवाको ट्यांकर सोमबार (असार ८) राति निगमको पार्किङस्थलबाट हराएको थियो ।

राति पार्किङमा राखिएको ट्यांकर हराएको जानकारी पाएपछि खोजी सुरु गरिएको थियो । खोजतलासका क्रममा मंगलबार (असार ९) बिहान करिब ११ बजे उक्त ट्यांकर सुनसरीको बर्जु गाउँपालिका–८ स्थित हुलाकी राजमार्ग क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

ट्यांकरधनी नवीन कर्णका अनुसार, त्यसमा करिब २० हजार लिटर पेट्रोलियम पदार्थ ‘लोड’ गरिएको थियो । भारतको सिलीगुडीबाट इन्धन बोकेर आएको ट्यांकर आइतबार (असार ७) बेलुका करिब ८ बजे निगमको पार्किङमा प्रवेश गराई लाइनमा राखिएको थियो ।

“हामी सबैजना आयल निगममा तालिममा थियौँ । (मंगलबार) बिहान साढे ८ बजेतिर मात्रै गाडी हराएको थाहा भयो,” कर्णले भने ।

ट्यांकरबाट एक हजारदेखि १२ सय लिटर पेट्रोलियम पदार्थ चोरी भएको प्रारम्भिक जाँचका क्रममा आशंका गरिएको छ । मुचुल्का तयार गरी ट्यांकर डिपोमा ल्याएपछि मात्र यसबारे यकिन हुने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले घटनास्थलमा अनुसन्धान सुरु गरेको छ । ‘चोरहरू’ले ट्यांकर हुलाकी राजमार्गसम्म ल्याएर छाडेको अनुमान गरिएको सुनसरी प्रहरीका डीएसपी चन्द्र खड्काले बताए ।

“ट्यांकर बेवारिसे अवस्थामा फेला परेको छ । तेल चोरी भएको आशंका गरिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ,” डीएसपी खड्काले भने ।

जिल्ला प्रहरी कार्यालय मोरङ, ढुवानी कम्पनीका प्रतिनिधि र निगमका अधिकारीको उपस्थितिमा मुचुल्का तयार गरी ट्यांकरलाई डिपोमा ल्याइनेछ ।

तपाईको प्रतिक्रिया