चितवन, ७ असार २०८३ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता बर्षमान पुनले क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका साथै सुशासनको मुद्दामा रास्वपालाई आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् ।
आइतबार चितवनमा आयोजित रास्वपाको महाधिवेशन उद्घाटन सत्रमा नेता पुनले क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका एजेन्डामा नेकपा रास्वपासँग नजिक रहेको र सुशासनको एजेण्डामा समानता रहेको बताएका हुन् । उनले कठिन परिस्थितिमा पनि रास्वपासँगै लोकतान्त्रिक मूल्य र न्यायको पक्षमा सँगै उभिने प्रयास गरेको भन्दै उनले अहिले पनि सुशासन, पारदर्शिता र थिति बसाउने अभियानमा नेकपाको पूर्ण समर्थन रहेको बताए ।
उनले थिति बसाउन चालिएका कदमहरू विधि सम्मत र संविधान भन्दा बाहिर नहोस् भन्ने रास्वपा र रास्वपा नेतृत्वको सरकारको पर्याप्त ध्यान पुग्ने विश्वास व्यक्त गरे । नेता पुनले दलहरू सुदृढ भए मात्र लोकतन्त्र बलियो हुने भन्दै राजनीतिमा बहुमतले विनम्रता सिक्नुपर्ने र अल्पमतले धैर्यता राख्नु पर्नेमा जोड दिए ।






