काठमाडौं, २८ जेठ २०८३ । नेपाली कांग्रेसकी सांसद कमला पन्तले निर्वाचनको मतलाई मात्र राजनीतिक वैधताको आधार मान्न नहुने बताएकी छन् । एकपटक प्राप्त मतका आधारमा दम्भ नदेखाउन सरकारलाई उनले चेतावनी दिएकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा उनले यस्तो चेतावनी दिएकी हुन् ।
“निर्वाचनबाट प्राप्त मतबाट मात्र राजनीतिले छुकटकारा पाउँदैन । गाली गर्न सजिलो छ, भूमिका निर्वाह गर्न अत्यन्त गाह्रो छ,” उनले भनिन्, “निर्वाचनबाट राजनीतिक दलहरूले धेरै मत प्राप्त गरेको हाम्रो इतिहास पनि छ । एकचोटि पाएको मतले धेरै दम्भ देखाउनुपर्ने जरुरी पनि छैन । माइक भेटेपछि धेरै कुरा गरिहाल्नुपर्छ भन्ने पनि छैन । त्यसरी सरकार चलाउन गाह्रो पनि पर्छ ।”
उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सीमाका विषयमा दिएको अभिव्यक्तिका बारेमा उनी स्वंयको धारणा आउनुपर्नेमा जोड दिइन् । उनले आपसी सहकार्य, एकता र सहमतिका आधारमा मुलुक अघि बढाउन सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आग्रह समेत गरिन् ।
सभाको संवैधानिक र राजनीतिक जिम्मेवारी निर्वाह गर्न आफूहरू तयार रहेको उनले उल्लेख गरिन् । उनले सभाप्रति सरकार उत्तरदायी हुनुपर्नेमा जोड दिइन् ।
“राष्ट्रियसभाको भिन्न जिम्मेवारी छ, त्यो जिम्मेवारी निर्वाह गर्न हामी तयार छौँ,” उनले भनिन्, “तर, हामीसँग रहेको प्रधानमन्त्रीप्रतिको आग्रह मेटियो भनेर भन्न सक्दैनौँ ।”
उनले सरकारका सकारात्मक कार्यमा सहयोग गर्न प्रतिपक्ष दलहरू तयार रहेको भन्दै नतर्सन समेत आग्रह गरिन् । न्युज एजेन्सी नेपाल






