काठमाडौं, २८ जेठ २०८३ । प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले बजेट मुलुकको समस्या समाधान गर्नेतर्फ केन्द्रित नभएको जिकिर गरेका छन् । प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफलमा बिहीबार (जेठ २८) भाग लिँदै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले मुलुकको समस्यालाई खुट्टाको घाउसँग तुलना गरे । सरकारले ल्याएको बजेटले खुट्टाको घाउ निको बनाउनेभन्दा पनि नयाँ जुत्ता किन्ने खालको भएको भन्दै उनले कटाक्ष गरे । खुट्टाको घाउ निको बनाउनेभन्दा पनि नयाँ जुत्ता किन्नेतिर ध्यान दिएको भन्दै उनले आपत्ति जनाए ।
अध्यक्ष राईले पेट्रोलियम पदार्थको मूल्य नेपालमा विश्वकै महँगो हुँदा पनि त्यसलाई घटाउनेबारे बजेटमा उल्लेख नगरेकामा आक्रोश व्यक्त गरे ।
हर्क साम्पाङको टिप्पणी पढ्नोस्–
पेट्रोलियम पदार्थको मूल्य विश्वमा नै नेपालमा महँगो । त्यसरी डे टु डे चाहिने उपभोग्य सेवा सुविधा र सामग्रीको मोल त्यसरी अचाक्ली बढाएर हामीले राम्रो बजेट बनाइराखेका छैनौँ भन्ने लाग्छ । त्यसो भएको हुनाले हामीले त्यतातिर ध्यान दिनुपर्दछ भन्ने लाग्दछ । बजेट भन्नेबित्तिकै हामीले समस्या हाम्रो के हो, विकास हाम्रो केमा हो भन्ने बुझ्न जरुरी छ जस्तो मलाई लाग्दछ । समस्या भनेको खुट्टामा भएको घाउ । विकास भनेको खुट्टामा लगाउने नयाँ जुत्ता । हाम्रो बजेट समस्या समाधान गर्नतिर केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर रु खुट्टाको घाउ उपचार गर्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ ? यो एउटा महत्त्वपूर्ण प्रश्न हामी सबैतिर उभिन्छ जस्तो लाग्दछ । वक्तव्यको क्रममा सयवटा घर बनाएर हामी सर्वसाधारणलाई बिक्री गर्नेछौँ भनेर भन्ने खालको अर्थमन्त्रीज्यूको वक्तव्यमा कुराहरू आउँदाखेरि त्यो आपत्तिजनक छ । सरकार भनेको वास्तवमा के हो भने शान्ति सुव्यवस्था कायम गर्ने, सेवा सुविधा प्रदान गर्ने एउटा निकाय मात्रै हो । हामी जग्गा व्यापारी, रियल स्टेट व्यापारी गर्ने हामी मान्छे होइनौँ । त्यो निकाय होइन । यो कुरा हामीले हेक्का राख्नुपर्दछ । न्युज एजेन्सी नेपाल






