Online Bichar
आइतबार, जेठ १७, २०८३ | Sunday, May 31, 2026

झापा, १७ जेठ २०८३ । झापाको बिर्तामोडमा बेवारिसे अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा इलामको फाकफोकथुम गाउँपालिका–३ घर भई हाल बिर्तामोड नगरपालिका–१ बस्दै आएका ४५ वर्षीय राजकुमार थेगिम रहेका छन्।

प्रहरीका अनुसार थेगिम जेठ १५ गते साँझ घरबाट कसैलाई जानकारी नदिई हिँडेका थिए। खोजतलासका क्रममा जेठ १६ गते राति करिब ८ः४५ बजे बिर्तामोड नगरपालिका–३ आदर्शचोकस्थित सडक छेउमा चिउँडोमा सामान्य चोट लागेको अवस्थामा लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त भएपछि प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले उनको उद्धार गरी उपचारका लागि बिर्तामोड नगर अस्पताल पठाएको थियो। उपचारकै क्रममा राति करिब ९ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल पठाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट मृतकले अत्यधिक मदिरा सेवन गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया