काठमाडौँ, ३१ वैशाख २०८३ । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएका श्रीकृष्ण बिकको मृत्यु भएको घटनाबारे छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका डीआईजी दिनेश आचार्य नेतृत्वको समितिले आईजीपी दान बहादुर कार्कीलाई प्रतिवेदन बुझाएको हो । समितिले वैशाख २९ मा प्रतिवेदन बुझाएको र सो प्रतिवेदन गृह मन्त्रालयमा पठाइएको प्रहरी प्रवक्ता (डीआईजी) अवि नारायण काफ्लेले बताए । उनले भने, ‘समितिले घटना छानबिन गरेर तथ्य र सिफारिस बुझाएको छ ।’
सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर–३ स्थित जुम्लिडाँडाका २३ वर्षीय श्रीकृष्ण बिक सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर–३ स्थित जुम्लिडाँडाका स्थानीय हुन् । वैशाख ३ मा उनलाई प्रहरी वृत्त सात दोबाटोबाट खटिएको टोलीले पक्राउ गरेर सिन्धुली पठाएको थियो ।
इलाका प्रहरी कार्यालय खुर्कोटमा वैशाख ७ गते साँझ ५ बजेर ५९ मिनेटमा हिरासतको शौचालयमा श्रीकृष्णले आफैंले लगाएको शर्टको पासो लगाएर झुन्डिएको प्रहरीको दाबी छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारलगायतले बिकको हिरासतमा शङ्कास्पद मृत्यु भएको दाबी गर्दै आएका छन् ।
छानबिन समितिले श्रीकृष्णको मृत्यु ‘झुन्डिएर नै भएको’ निष्कर्ष सहितको छानबिन प्रतिवेदन बुझाएको छ । समितिका एक जना सदस्यका अनुसार मृतकको शरीरमा कुनै चोटपटक देखिएको छैन । सांसद सुनारले सार्वजनिक रूपमा बिकको शरीरमा निलडाम भएको जिकिर गरेका थिए । मृतकको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको थियो ।
पोस्टमार्टममा ४ जना चिकित्सक संलग्न रहेको र पोस्टमार्टम रिपोर्टमा पनि कुटपिट र निलडाम भएको रिपोर्ट नआएको छानबिन समितिका एक जना सदस्यले बताए । ती सदस्यले भने, ‘पोस्टमार्टममा पनि झुन्डिएर मृत्यु भएको रिपोर्ट आएको छ ।’
छानबिन समितिले इलाका प्रहरी कार्यालय खुर्कोटका इन्स्पेक्टर वसन्त भुजेल र घटना भएको दिन हिरासत कक्षमा ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ । समितिका एक जना सदस्य भन्छन्, ‘इन्स्पेक्टर सहित दुई जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेका छौँ ।’
वैशाख ११ मा गठन भएको छानबिन समितिमा एसपी रवीन्द्रनाथ पौडेल, सीआईबीमा कार्यरत इन्स्पेक्टर ईन्द्रजित सुनार, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर प्रेम रेग्मी र प्रहरी नायव निरीक्षक (सई) राजेश्वर सापकोटा सदस्य थिए । समितिलाई ७ दिनमा छानबिन सकेर प्रतिवेदन बुझाउन भनिएको थियो । तर, पोस्टमार्टम रिपोर्ट ढिला हुँदा छानबिन लम्बिएको अधिकृतहरू बताउँछन् ।
समितिले प्रहरी हेडक्वार्टरलाई हिरासतमा झुन्डिएर मृत्यु हुने घटना नियन्त्रण गर्नेबारे लामो सुझाव दिएको छ । हिरासतमा मानव अधिकार र मौलिक अधिकारको रक्षाबारे सुझाव दिइएको छानबिन समिति स्रोतको भनाइ छ ।
प्रहरी युनिटभित्र सेवाग्राही र थुनुवाको सुरक्षाको दायित्व इन्चार्जको हुने हुनाले सुरक्षा व्यवस्था मजबुत बनाउन सुझाव दिइएको छानबिन समितिका एक जना सदस्यले बताए ।
श्रीकृष्ण झुन्डिएको अवस्थामा भेटेपछि प्रहरीले उनलाई शुरुमा सुनकोशी सामुदायिक अस्पताल र त्यसपछि सिन्धुलीमाडी स्थित जिल्ला अस्पतालमा लगेको थियो ।






