Online Bichar
बुधबार, भाद्र १०, २०८३ | Wednesday, August 26, 2026

विराटनगर, ८ साउन २०८२ । कोशी प्रदेशमा १ वर्षको अवधिमा लागुऔषधसहित एक हजार नौ सय ८५ जना पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रणका लागि आक्रामक हिसाबले अभियान चलाएको प्रहरीले आर्थिक वर्ष २०८१–०८२ मा एक हजार आठ सय ८८ जना पुरुष र ९७ जना महिलालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा लागुऔषधको ओसारपसार, भण्डारण र कारोबारमा संलग्नहरु रहेका छन्। पक्राउ परेकाको साथबाट चरेश, अफिम, ब्राउन सुगर ९खैरो हेरोइन० र विभिन्न प्रकारका लागुऔषध बरामद भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी, डीएसपी ध्रुवकुमार श्रेष्ठले बताए।

उनका अनुसार मानव जीवनमा लागुऔषधको प्रयोगले गम्भीर नकारात्मक असर पार्ने, व्यक्तिको मानसिक सन्तुलन बिगार्ने र यसले परिवार, समाज र राष्ट्रमै दीर्घकालीन क्षति पु¥याउने निष्कर्षका साथ नियन्त्रणका लागि प्रहरी क्रियाशील बनेको हो। ‘लागुऔषधको प्रयोग र कारोबारसँगै विभिन्न अपराध बढेका छन्,’ प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले भने, ‘हत्या, लुटपाट, चोरीजस्ता आपराधिक गतिविधि बढ्ने सम्भावना उच्च हुने भएकाले यसलाई निर्मूल पार्न प्रहरी सक्रियता बढाइएको छ।’

कार्कीका अनुसार अभियानलाई प्रभावकारी बनाउन कानुनी चेतना र सामाजिक उत्तरदायित्वमा जोड दिँदै ‘लागुऔषधको प्रयोग, ओसारपसार र बेचबिखन कानुनी अपराध हो’ भन्ने सन्देशका साथ नीतिगत, भौतिक र मनोवैज्ञानिक स्तरमा एकीकृत रणनीति अवलम्बन गरिएको छ। लागुऔषधको कुलतमा लागेका युवाहरूलाई पुनस्र्थापना गराउन, सुधारको बाटो देखाउन तथा समुदायस्तरमा चेतना फैलाउन प्रहरी सक्रिय रहेको डीआईजी कार्की बताउँछन्।

त्यसका लागि फ्यान (फाइट एगेन्स्ट नार्कोटिक्स) नामक कार्यक्रम सञ्चालन गर्नुका साथै प्रदेश सरकार, स्थानीय तह तथा सरोकारवाला संघ संस्थाहरूसँगको समन्वयमा चेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको उनले बताए। युवाहरूलाई कुलतबाट बचाउने उद्देश्यले सञ्चारमाध्यमहरूसँग सहकार्य गर्दै श्रव्य दृश्य सामग्री निर्माण गरी सचेतनामूलक अभियान चलाइएको छ।

लागुऔषध ओसारपसारको सञ्जाललाई तोड्न प्रहरीले राजमार्ग, भित्री सडक, सीमावर्ती नाका, सवारीसाधन र शंकास्पद व्यक्तिहरूमाथि कडाइका साथ निगरानी तथा चेकजाँच गरिरहेको जानकारी कार्कीले दिए। चेकजाँचको कडाइका कारण लागुऔषध शरीरका विभिन्न अंग तथा मलद्वारमा लुकाएर ल्याउने प्रयासहरू असफल भएको दाबी प्रहरीको छ। कतिपय अवस्थामा प्रहरीले लागुऔषधको गिरोहलाई नियन्त्रणमा लिन गोली प्रहारसमेत गर्ने गरेको छ।

आर्थिक वर्ष २०८१–०८२ मा प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। झापा प्रहरीले ब्राउन सुगर २ किलो ८ सय ८२ ग्राम, विभिन्न मनोदिपक चक्की र क्याप्सुल ६३ हजार ५ सय ६० ट्याब्लेट, मोरङ प्रहरीले १ किलो ७ सय ७० ग्राम ब्राउन सुगर, चक्की र क्याप्सुल ८० हजार ९ सय २३ ट्याब्लेट, सुनसरी प्रहरीले ब्राउन सुगर ७ सय २८ ग्राम तथा चक्की र क्याप्सुल ४ लाख २८ हजार ६ सय ८३ ट्याब्लेट र अन्य मनोदिपक औषधिहरू बरामद गरेको छ।

प्रदेशभरिबाट चरेश ३ दशमलव ५८ ग्राम, अफिम १५ दशमलव ७७ ग्राम, ब्राउन सुगर ५ किलो ४ सय ८० ग्राम, चक्की र क्याप्सुल ६ लाख १५ हजार ७० ट्याब्लेट, २ हजार ६ सय ५४ एम्पुल बरामद गरिएको डीएसपी श्रेष्ठले बताए। प्रदेश प्रहरीले अभियानमा आमनागरिक, सञ्चारकर्मी, शिक्षण संस्था, अभिभावक र युवाहरूको साथ एवं सहयोग प्राप्त भएको जनाएको छ। प्रहरीले लागुऔषध सम्बन्धी कुनै सूचना भएमा तत्काल उपलब्ध गराउन आग्रह गरेको छ।

डीआईजी कार्कीले लागुऔषधविरुद्धको अभियानलाई अझ सशक्त र परिणाममुखी बनाउन प्रहरी सक्रियता बढाइएको बताए। अज्ञानताका कारण, उत्सुकता जागेर, साथीभाइको लहलहै, पारिवारिक तनाव लगायतको बहाना बनाउँदै लागुऔषध सेवनको कुलतमा फसेका युवालाई त्यसबाट छुटकारा दिलाउने भूमिका प्रहरीले खेलिरहेको दाबी उनको छ।अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया