Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

काठमाडौँ, ९ पुस २०८२ । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले १०० दिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्। आज आयोजित कार्यक्रममा मन्त्री घिसिङले वर्षौँदेखि अलपत्र अवस्थामा रहेका करिब १७ अर्ब रुपैयाँ बराबरका ६६ वटा रुग्ण ठेक्का रद्ध गरेको जानकारी दिएका हुन्।

‘काम नगर्ने निर्माण व्यवसायीलाई ठेक्का तोडेर मात्र नछोडिने र नयाँ प्रक्रियामार्फत आयोजनालाई गति दिन आफू लागू परेको बताए। राष्ट्रिय गौरवको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, पावरहाउस लगायत सिभिल निर्माण कार्यको ठेक्कामा निर्माण व्यवसायीद्वारा प्रगति बढाउन कुनै पनि तदारुकताका नदेखाएको अवस्था रहेकोले ठेक्का सम्झौताको प्रावधान अनुसार ठेक्का सम्झौता अन्त्य गरिएको छ।’ उनले भने, ‘नयाँ ठेक्का लगाउन प्रक्रिया अगाडि बढाइएको छ।’

उनले विगत लामो समयदेखि उठ्न नसकेको डेडिकेटेड तथा ट्रंक लाइनको प्रिमियम महसुल बक्यौता किस्ताबन्दीमा असुल उपर गर्न थालिएको जानकारी दिए। बक्यौताको किस्ता तिर्न सुरु गरी बन्द गरेका र एउटा पनि किस्ता नतिरेका उद्योगबाटसमेत महसुल तिर्न थालिएको उनको भनाई छ।

नेपाल विद्युत प्राधिकरणको २० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको उनले जानकारी दिए। उनले जेनजी आन्दोलनका कारण क्षति पुगेका सरकारी भौतिक संरचनाहरुको पुन निर्माण कार्य तिब्रता दिइएको र मन्त्रालय अन्तर्गत रहेका हरियो स्टिकर अर्थात् सामान्य क्षति पुगेका १४० वटा भवन संरचनाहरुको पुनर्निनिर्माण सारभूत रुपमा सम्पन्न गरिएको दाबी गरेका छन्।

 

तपाईको प्रतिक्रिया