काठ्माडौं, २९ मंसिर २०८२ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पदाधिकारी पदमा उमेदवारी दिएनन् । पार्टीको निर्वाचन आयोगले तोकेको समयावधिभित्र ज्ञवालीले पदाधिकारीमा नभइ केन्द्रीय सदस्यमा मात्रै मनोनयन दर्ता गराएको निर्वाचन समिति स्रोतले जानकारी दिएको छ ।
आयोगले सोमबार साँझ ५ बजेसम्म फाराम वितरणको समय तोकेको थियो । ज्ञवालीले आफूलाई उपाध्यक्षको उमेदवार बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै ११औँ महाधिवेशनमा आफू उपाध्यक्षको उमेदवार नबन्ने बताएका थिए ।
पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबाट उनलाई उपाध्यक्षमा अघि सारिएको थियो । उमेदवारी नदिने भन्दै रुष्ट उनी काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशनस्थलबाटै बाहिरिएका थिए । यसपालि उनी महासचिव पदको दाबेदार हुन् । १०औँ महाधिवेशनबाट उनी उपमहासचिव बनेका थिए ।






