काठ्माडौं, २९ मंसिर २०८२ । प्रतिनिधिसभा सदस्य उमेदवार निम्ति नेपाली कांग्रेस तेह्रथुमले महामन्त्री गगन थापाको एकल नाम सिफारिस गरेको छ । तेह्रथुमकै निवर्तमान सांसद सीता गुरुङको नाम भने विवादका कारण सिफारिश हुन सकेन ।
जिल्ला कार्यसमितिको बैठकले थापाको एकल नाम सिफारिस गरेको हो । तेह्रथुम एकमात्र निर्वाचन क्षेत्र हो । यो जिल्लाबाट यसअघि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ निर्वाचित भएकी थिइन् ।
गुरुङले बाह्रखरीसँग भनिन्, “भोलि प्रधानमन्त्री हुने सहरका माननीय महामन्त्री थापाले गाउँका समस्या पनि बुझ्नुहुन्छ । त्यहाँबाट निर्वाचित भएपछि भोलि नीति–कार्यक्रम ल्याउन पनि सहज होला । म उहाँलाई स्वागत गर्छु ।”
कांग्रेस तेह्रथुमका सभापति अर्जुनबहादुर तुम्बाहाम्फेले अनुशासनका नाममा केन्द्रले गरेको निर्णयको असर परेको बताए । तेह्रथुमका कांग्रेस नेता तुलसी सुब्बा अनुशासनको कारबाहीमा परेका थिए ।
केन्द्रीय सदस्य गुरुङले जिल्लाका गल्ती नै नगरेका सिनियर नेताहरूमाथि उजुरी गरेर कारबाही गराएकाले उनको नाम जिल्ला कार्यसमितिबाट सिफारिस नभएको जानकारी तुम्बाहाम्फेले दिए ।
सुब्बा ०६४ सालको संविधानसभा सदस्य थिए । सुब्बाविरुद्धको कारबाही फिर्ता भएको थिएन । ‘‘कारबाहीमा परेपछि उहाँको नाम सिफारिस गर्न जिल्ला कार्यसमितिका साथीहरू तयार भएनन्,” सभापति तुम्बाहाम्फेले बाह्रखरीसँग भने, “म त सभापति भएँ, म त बराबर भएको भए निर्णायक मतमात्र व्यक्त गर्न सक्थेँ । अधिकांश साथीहरूले नाम सिफारिस नगर्ने भनेपछि मेरो भूमिका नै आएन ।”
कांग्रेसले गत असार २५ मा डेढ दर्जन नेताहरूसहित कार्यकर्तामाथि कारबाही गरेको थियो ।
पार्टी विधानले बागी, विद्रोही उमेदवारलाई कारबाही जिल्ला तहले नै गर्न सक्ने प्रावधान राखे पनि त्यसबाहेकका उजुरीमा जिल्ला अनुशासन, प्रदेश हुँदै केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने प्रावधान छ ।
यसैगरी कांग्रेस विधानमा उजुरी परेको छ महिनाभित्र कारवाही गरिसक्नुपर्ने प्रावधान छ । तर, २०७९ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीको उम्मेदवारलाई असहयोग गरेको भन्दै परेका उजुरीमा २०८२ असारमा कारबाही गरिएको हो ।






