Online Bichar
बुधबार, पौष ०२, २०८२ | Wednesday, December 17, 2025

काठ्माडौं, ३० कार्तिक २०८२ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उमेदवारी दर्ता माघ ६ गते हुने जनाएको छ । आयोगले आइतबार  सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार, माघ ६ गते बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयन पत्र दर्ता हुनेछ ।

सोही दिन बेलुका ५ देखि ७ बजेसम्ममा उमेदवारको सूची प्रकाशन हुनेछ । मनोनयन पत्र दर्ता भएका उमेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिन दिउँसो ३ देखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी माघ ८ गते बेलुका ५ देखि ७ बजेसम्ममा उमेदवारको नामावली प्रकाशन गरिने निर्वाचन कार्यतालिका रहेको आयोगले जनाएको छ ।

त्यस्तै, माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारको नाम फिर्ता लिन सकिनेछ । सोही दिन दिउँसो १ देखि ३ बजेसम्ममा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

स्वीकृत निर्वाचन कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

 

 

 

तपाईको प्रतिक्रिया