खलंगा (दार्चुला), १६ भदौ २०८२ । दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–५, शौकेबगरस्थित नौगाड खोलामा अटोरिक्सा खस्दा ११ वर्षीया अरुणा धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए । उक्त दुर्घटनामा अन्य दुईजना बेपत्ता भएका उनले बताए ।
होपरीगाडबाट धुलिगडातर्फ गइरहेको म १ ह ११४८ नम्बरको अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खसेको हो । प्रहरी निरीक्षक रावतका अनुसार, अटोरिक्सामा पाँचजना सवार थिए । चालक मनिराम भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चालक मनिरामका छोरा १७ वर्षीय आयुस सो दुर्घटनामा घाइते भएका छन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता भएकाको पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक रावतले बताए । बेपत्ताको खोजी गर्न धुलिगडा र होपरीगाडबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ ।रासस






