झापा, १९ असार २०८२। झापा र इलाममा काम गर्दा गर्दै दुईजना श्रमिक घाइते भएका छन् । आज बिहान ११:४० बजे भद्रपुर वडा न.५ स्थित भन्सार कार्यालयको तीन तले भवनको दोस्रो तलाबाट टायलको काम गर्दा गर्दै एक श्रमिक झरेका छन् ।
भद्रपुर वडा नं. ७ बोक्ताबारी बस्ने ३६ वर्षीय अमृत राजवंशी अचानक झरेर घाइते भई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । उनको हात,टाउको,दाहिने घुँडा र शरीरको भित्री भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उता आज बिहान ९:३० बजे इलाम देउमाई –३ मन्त्र कटेजस्थित भित्री सडकखण्डमा मन्त्र कटेजदेखि चुरेघाँटीसम्मको सडक निर्माण गर्ने क्रममा सडकमा काम गर्ने कामदार माई –९ बस्ने ३३ वर्षीय सन्तोष जबेगु घाइते भएका छन् । जेनेरेटरबाट चल्ने मिक्चरमा मसला घोल्ने क्रममा मिक्चरले दाहिने हात च्यापिएर उनी घाइते भएका हुन् ।
उनलाई देउमाई –४ मंगलबारेस्थित बिशाल मेडिकलमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ । घाइतेको दाहिने हातको कुहिनोभन्दा मुनिको भाग च्यापिएको बताइएको छ ।






