Online Bichar
आइतबार, माघ १२, २०८२ | Sunday, January 25, 2026

झापा, १२ असार २०८२ । बिर्तामोड-भद्रपुर सडक विस्तारको कार्य रोक्न माग गर्दै स्थानीयले दायर गरेको रिट ११ बर्ष २ महिनापछि खारेज भएको छ । सो सडक खण्डको भद्रपुर-१० चन्द्रगढीस्थित लेखनाचोकदेखि भैरे चोकसम्मको सडक विस्तार रोक्न माग गर्दै केही स्थानीयले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको हो।

स्थानीय विष्णुमाया ताम्राकार समेतले दायर गरेको रिटलाई सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासले खारेज गरिदिएको हो । ताम्राकार सहित २१ जनाले प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालय लगायतलाई विपक्षी बनाई २०७० चैत महिनाको ९ गते रिट हालेका थिए ।

बिर्तामोड–भद्रपुर सडकअन्तर्गत गरामनी–चन्द्रगढी खण्डको ८.४१ किलोमिटर सडक निर्माणको ठेक्का २०७७ माघ ६ गते ठेक्का सम्झौता भएको थियो ।

काठमाडौँको एमएस कन्टेक प्रालिले २०८० साल साउन ५ गते अर्थात् ३० महिनामा बिर्तामोड–भद्रपुर सडक निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि त्यस अवधिभित्र करिब ३० प्रतिशत मात्र काम सम्पन्न भएको थियो । त्यसपछि सडक डिभिजन कार्यालय दमकले आगामी फागुन ६ गतेसम्म म्याद थप गरेको हो ।

पटक-पटक गरिएको म्याद थपबाट पनि कन्टेक प्रालिले काम पुरा नगरेपछि कञ्चन निर्माण सेवाका प्रोप्राइटर केदार गिरीले बाँकी रहेको काम गर्ने गरी पेटी कन्ट्याक्टमा जिम्मेवारी लिएका छन्।उक्त सडक भ्याटसहित ५८ करोड २ लाख २८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो।

तपाईको प्रतिक्रिया