काठमाडौं, ८ असार २०८२ । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले भारत, बिहार राज्यका २० वर्षीय अम्मरनाथ कुमारलाई धादिङको धुनिवेशी नगरपालिका–८, खानी खोला क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार आरोपीले फेसबुकमा पीडितसँग साथी बनी म्यासेन्जरमार्फत कुराकानी गर्दै पीडितको अश्लील तस्बिर तथा भिडियोहरू उनको जानकारी बिना नै स्क्रिन रेकर्ड गरेका थिए। ती सामग्रीहरू पछि नक्कली फेसबुक अकाउन्टमार्फत पीडितका परिवारका सदस्यहरूसम्म पठाएर चरित्र हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको हो।
साइबर ब्युरोले प्राविधिक विश्लेषण र अनुसन्धानको आधारमा आरोपी पहिचान गरी, मिति २०८२ असार ६ गते पक्राउ गरेको हो। पक्राउपछि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमतिसहित अनुसन्धान अघि बढाइएको साइबर ब्युरोले जनाएको छ।
प्रहरीले आरोपीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।






