काठमाडौं, ८ असार २०८२ । दक्षिण कोरियाले तीन जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरिया सरकारले तीन जना नेपालीलाई निष्कासन गरेको हो।
निष्कासन गरिनेमा देवान, सिंह र गौतम थरका एक-एक जना रहेका छन्। उनीहरूलाई गत साता काठमाडौं पठाएको स्रोतको भनाइ छ।
स्रोतका अनुसार थाइ एयरवेजको जहाजबाट उनीहरूलाई काठमाडौं पठाइएको हो। अध्यागमन कानुन उल्लंघन गरेको बताइए पनि उनीहरू निष्कासन हुनुको पूर्ण विवरण नखुलाइएको स्रोतले जनाएको छ। दक्षिण कोरिया नेपालीहरूको प्रमुख वैदेशिक रोजगारीको गन्तव्यको रूपमा रहेको छ। दक्षिण कोरिया जानका लागि लाखौं मानिस इपीएस भाषा परीक्षामा सहभागी हुँदै आएका छन्। तर, कतिपय नेपालीहरू प्रलोभनमा परेर दक्षिण कोरियासम्म पुग्ने गरेका छन्।
त्यहाँको कानुन विपरीत गतिविधि गरेको पाइएपछि त्यहाँको अध्यागमनले नेपालीहरूलाई निष्कासन गर्ने गरेको दक्षिण कोरियाका एक नेपालीले बताए। यसअघि जेठको पहिलो साता दक्षिण कोरिया सरकारले एकैपटक १० जना नेपालीलाई निष्कासन गरिएको थियो।






