इलाम, ४ असार २०८२ । इलाम रोङ गाउँपालिका–१ बड्कौैलेका दिलबहादुर सुब्बाको हर्षको सिमा थिएन, हँसिलो अनुहारसहित हातमा लालपुर्जा बोकेर साथीसंगीलाई देखाउँदै थिए । जन्मँदै भूमिहीन सुब्बाले ६० को दशक पार गर्दा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) हात पारेका हुन् ।
वर्षैदेखि बसोबास गर्दै आएका र मङ्गलबार जग्गाधनी प्रमाणपुर्जा पाएका इलामको रोङ गाउँपालिका–१ शान्तिपुरका ७२ अव्यवस्थित बसोवासीलाको खुसी दिलबहादुरको जस्तै थियो । भूमि समस्या समाधान आयोगले रोङ गाउँपालिकासँग समन्वय गरेर लालपुर्जा वितरण गरेको भूमि समस्या समाधान आयोग इलामका अध्यक्ष प्रकाश अधिकारीले बताए ।
रोङ गाउँपालिकामा दुई सय १२ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीले निवेदन दिएकोमा एक सय ५० जनाको निर्णय भएको अध्यक्ष अधिकारीले बताए । जसमध्ये ७२ जनाले मङ्गलबार लालपुर्जा पाएका छन् । बाँकी ७८ जनाको पनि क्रमिक रुपमा नियम अनुसार नै लालपुर्जा वितरण गरिने उनले बताए ।
‘हामी जतिसक्दो चाँडो भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाको धनी बनाउन लागिपरेका छौँ,’ अध्यक्ष अधिकारीले भने, ‘हामीले पाएको जिम्मेवारीअनुसार जनताको अपेक्षा पूरा गर्ने कोसिस गरिरहेका छौँ । असार मसान्तसम्म करिब सात सय जनालाई लालपुर्जा वितरण गर्ने तयारी भइरहेको छ ।’
रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउन भूमि समस्या समाधान आयोगसँगको समन्वयमा काम गरिरहेको बताए । ‘आयोगको काममा हामी जनप्रतिनिधि, कर्मचारी र राजनीतिक दलहरूले समेत जिम्मेवारीपूर्ण तरिकाले सघाइरहेका छौँ,’ उनले भने, ‘सबैको सहयोगमा कामले तीव्रता पाएको छ ।’ सरकारले अघिल्लो आयोग विघटन नगरेको भए १ वर्ष पहिला नै रोङका सबैले लालपुर्जा पाइसक्ने उनको भनाई थियो । पालिका उपाध्यक्ष विष्णुमाया भुजेलले जस्तो सुकै परिस्थितिको सामना गरेर भए पनि रोङमा बसोबास गर्ने सबै भूमि विहीनको हातहातमा जग्गाधनी प्रमाण पुर्जा ९लालपुर्जा० पुर्याउने प्रतिबद्धता व्यक्त गरिन् ।
पहिलो चरणमा अहिले इलामको रोङ गाउँपालिकासहित माङसेबुङ र चुलाचुली गाउँपालिका एवम् सूर्योदय र माई नगरपालिकामा भूमि सम्बन्धी समस्या समाधानका लागि प्रक्रियागत रुपमा काम भइरहेको भूमि समस्या समाधान आयोगका अध्यक्ष अधिकारीले बताए । उनले फिल्डमा आउने ससाना समस्यामा नअल्झिएर आवश्यक समन्वय र सहयोग गर्न सबैसँग आग्रह समेत गरे ।
भूमि आयोगका केन्द्रीय अध्यक्ष रिजालले संविधानले नै भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीले जग्गा पाउने अधिकार सुनिश्चित भएको बताउँदै आयोगले सबैलाई लालपुर्जा उपलब्ध गराउने बताए । देशभर जिल्ला आयोगबाट लालपुर्जा वितरण सुरु भएको बताउँदै उनले २ वर्षभित्र सबै भूमिहीन जग्गाको मालिक बन्ने दाबी गरे ।
रोङ गाउँपालिकाभरिबाट एक हजार आठ सय ६० जनाको आवेदन परेको छ । १ वर्षभित्र सबैलाई लालपुर्जा वितरण गरिसक्ने गरी काम गर्न पालिकाले सहयोग गर्ने गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए ।
इलाममा २२ हजार दुई सय ४० जनाको निवेदन दर्ता भएको भूमि आयोग इलामले जनाएको छ । जसमध्ये दुई सय १० भूमिहीन दलित, नौ सय १० भूमिहीन सुकुम्वासी २१ हजार एक सय ३० अव्यवस्थित बसोबासीले निवेदन दर्ता गराएको भूमि आयोग इलाम अध्यक्ष अधिकारीले जानकारी दिए ।
भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले भूमिहीन दिलबहादुर सुब्बालाई लालपुर्जा हस्तान्तरण गरेर लालपुर्जा वितरण कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा आयोगका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईँ, जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा आयोगले शान्तिपुर पुगेर भूमिहीनलाई लालपुर्जा वितरण गरेका हुन् ।






