काठमाडौं, ३१ जेठ २०८२ । भारत सरकारले नेपाललाई ४० एम्बुलेन्स प्रदान गरेको छ। भारत सरकारले नेपालका विभिन्न जिल्लामा रहेका स्वास्थ्य संस्थालाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको हो।
राजदूतावासका अनुसार २२ वटा एम्बुलेन्स काठमाडौंमा हस्तान्तरण गरिएको छ। यस्तै वीरगंजमा ७, पोखरामा ७ र धरानमा ४ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ।
काठमाडौंमा आयोजित समारोहमा भारतीय राजदूतावास काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले सवारी साधनहरुको चाबी हस्तान्तरण गरे। कार्यक्रममा बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका नगरपालिका र गाउँपालिकाका मेयर र अध्यक्षहरूका साथै लाभार्थी संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि र समाजसेवी उपस्थित थिए।
उप–प्रमुखले स्वास्थ्य क्षेत्रमा पूर्वाधार सुदृढीकरण गर्ने नेपाल सरकारको प्रयासलाई मजबुत बनाउन एम्बुलेन्स प्रदान गरिएको बताए। यस्तै लाभार्थी संस्थाका प्रतिनिधिले भारतको सहयोगको लागि कृतज्ञता व्यक्त गरे। उनीहरुले उपहारस्वरूप प्रदान गरिएका एम्बुलेन्सहरुले स्वास्थ्य सेवामा पहुँच बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे। वीरगन्ज, पोखरा र धरानका लाभार्थीहरुले पनि यस्तै भावना व्यक्त गरेको राजदूतावासले जनाएको छ।
भारत सरकारले नेपालको स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सन् १९९४ यता नेपाललाई १०४९ एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको राजदूतावासले जनाएको छ। यस्तै नेपालका विभिन्न शैक्षिक संस्थाहरुलाई ३०० स्कुल बस उपहारस्वरूप प्रदान गरिएको राजदूतावासले जनाएको छ।
यस्तै भारतले सन् २०२२ मा निर्वाचन सञ्चालन हेतु कानुन कार्यान्वयन गर्ने निकाय र नेपालको निर्वाचन आयोगलाई २०० सवारी साधन उपहारस्वरूप प्रदान गरिएको बताएको छ।
‘सगरमाथा संवाद’को पहिलो संस्करणको आयोजनालाई सहज बनाउन परराष्ट्र मन्त्रालयलाई १५ वटा विद्युतीय सवारी साधन उपहारस्वरूप प्रदान गरिएको राजदूतावासले जनाएको छ।






