Online Bichar
शनिबार, माघ ०४, २०८२ | Saturday, January 17, 2026

विराटनगर, २५ जेठ २०८२ । मोरङको ग्रामथानमा सुनको गहनाका लागि मानसिक सन्तुलन कमजोर भएकी १ जना वृद्धाको हत्या भएको छ।

प्रहरीका अनुसार मोरङको ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया तिलमाया खड्काको हत्या भएको हो। उनको हत्यामा संलग्न भएको आरोपमा ग्रामथान–६ की ४० वर्षीया सीता ऋषिदेव पक्राउ परेकी छन्। घरबाट बेपत्ता भएकी तिलमायाको शव ग्रामथान–६ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा घोप्टो परेर डुबेको अवस्थामा आइतबार अपरान्ह फेला परेको थियो।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार तिलमाया शनिबार नै घरबाट हराएकी थिइन्। हराएको भोलिपल्ट अर्थात्, आइतबार नहरको पानीमा डुबेको अवस्थामा शव फेला परेको उनले बताइन्। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वृद्धाको मानसिक सन्तुलनसमेत कमजोर रहेको पत्ता लागेको छ।

प्रहरीका अनुसार घरबाट हिँडेकी तिलमायालाई नहरमा डुबेको अवस्थामा देखेर सीताकी छोरी १९ वर्षीया सोनु ऋषिदेवले उद्धार गरी आफ्नो घरतिर लगिन्। पानीले भिजेका कपडा फेरिदिइन्। त्यसपछि वृद्धालाई आफ्नै घरमा छाडेर सोनु नजिकै रहेको मामाघरतिर गइन्। उनी मामाघरतिर गएपछि आमा सीताले भने वृद्धाले कानमा लगाएका मुन्द्री निकालेर उनलाई नहरमा हालेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

‘कानका मुन्द्री निकालेर राखेपछि वृद्धालाई भने लगेर नहरमै हालिदिएको प्रारम्भिक अनुमान छ,’ प्रहरी स्रोतले भन्यो, ‘पानी बगिरहेको नहरमा हालिदिएपछि डुबेर वृद्धाको मृत्यु भयो।’ प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सुनका गहनाकै लागि सीताले वृद्धाको हत्या गरेको पत्ता लागेको छ। वृद्धाले लगाएका मुन्द्री सीताको घरभित्र फेला परेको डीएसपी चुँडालले बताइन्। ‘घरभित्र खाल्डो खनेर गाडेको अवस्थामा मुन्द्री फेला परेका छन्। वृद्धाले लगाएका कपडा पनि घरभित्रै भेटिए। हत्या भएको आशंकामा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,’ उनले भनिन्।

‘नहरमा डुबेको देखेपछि वृद्धालाई सीताकी छोरी सोनुले उद्धार गरेर बचाइन्। आफ्नो घरमा लगेर भिजेका कपडा फेरिदिइन्,’ प्रहरी स्रोतले भन्यो, ‘तर, आमाले भने वृद्धाले कानमा लगाएका सुनका गरगहना निकालिन्। त्यसपछि नहरमा हालेर मारिदिइन्।’ प्रहरी नियन्त्रणमा रहेकी सीताले भने घटनाका विषयमा बोल्न मानिरहेकी छैनन्।

उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ। वृद्धाका परिवारका सदस्यले कर्तव्य ज्यान मुद्दा चलाउन किटानी जाहेरी दिएपछि प्रहरीले थप प्रक्रिया अघि बढाउन लागेको हो। विराटनगरको कोशी अस्पतालमा पोस्टमार्टम गरेपछि शव परिवारका सदस्यले बुझेर अन्त्येष्टि गरिसकेका छन्।

घटनाका विषयमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ। अनुसन्धानबाट थप कुरा खुल्दै जाने जानकारी डीएसपी चुँडालले दिइन्।

 

तपाईको प्रतिक्रिया