Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

काठमाडौ, २५ जेठ २०८२ । भारतको हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा एक जना नेपाली युवक पक्राउ परेका छन्। हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको आरोपमा पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको हो।

विजयले ताराको हत्या गरी ट्राभल ब्यागमा शव हालेर फालेको भेटिएपछि जुन ४ मा घटनाको खुलासा भएको इन्डिया टुडेले उल्लेख गरेको छ। विजयसँग फेसबुकमार्फत चिनजान भएपछि तारा अप्रिल १५ मा हैदराबाद गएर उनीसँग बोवरमपेटस्थित एउटा कोठामा बस्दै आएको प्रहरीले जनाएको छ। विजय हैदराबादको एउटा रेस्टुरेन्टमा शेफका रूपमा कार्यरत थिए। तारा विवाहित र दुई छोराछोरीकी आमा थिइन्।

प्रहरीका अनुसार मे २३ मा उनीहरूबीच तारा गर्भवती भएको विषयमा भनाभन भएको थियो। विवादको क्रममा विजयले नाइलनको डोरो प्रयोग गरी उनको घाँटी कसेर हत्या गरेको भेटिएको प्रहरीले जनाएको छ। त्यसपछि शवलाई ट्राभल ब्यागमा हालेर सुनसान स्थानमा फालेको प्रहरीको भनाइ छ।

घटनापछि साइबराबादका के। सुरेश कुमार, सत्यनारायण र रवि किरण रेड्डीलगायत फरेन्सिक विज्ञहरू घटनास्थल पुगेका थिए। अनुसन्धानका लागि पाँचवटा विशेष टोली गठन गरिएको प्रहरीले जनाएको छ। सीसीटीभी फुटेज र प्रविधिको सहायताले विजयलाई मेडक जिल्लामा फेला पारिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउपछि सोधपुछमा विजयले अपराध स्वीकार गरेका छन्। उनलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया