Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

धरान, २२ जेठ २०८२ । सप्तकोसी नदीमा उद्धार अभ्यास गर्ने क्रममा बेपत्ता भएका दुईजना सशस्त्र प्रहरी अझै भेटिएका छैनन्। बेपत्ता भएकाहरू कोसी ब्यारेजमा रहेको ह्युम पाइपमा फसेको हुनसक्ने आशंका गरिएको छ।

सशस्त्र प्रहरी बलको मधेश प्रदेश कार्यालयबाट बिहीबार सप्तकोसी नदीमा उद्धार अभ्यासका लगि गोताखोर सहितको टोली सप्तकोसी नदीमा पुगेका थिए। अभ्यासका क्रममा सशस्त्र प्रहरी जवान हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका हुन्।

सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ५ जना गोताखोर सहितको तालिम प्राप्त टोली सप्तकोसी नदीमा अभ्यास गर्न गएका थिए। अभ्यासका क्रममा दुई जना नदीमा डुबेर बेपत्ता भएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए।

उनले नदीमा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरीको खोजीमा सप्तरी र सुनसरीका दुबै युनिटबाट प्रहरी परिचालन गरिएको भएपनि उनीहरूको अवस्था पत्ता लगाउन नसकिएको जानकारी दिए। साउद सशस्त्र प्रहरीको मधेश प्रहरी कार्यालय बर्दिबास र राजवंशी सशस्त्र प्रहरीको बरमझिया गणमा कार्यरत थिए।

उद्धार गर्ने तरिका सिकाउने क्रममा सशस्त्र प्रहरी जवान साउद र राजवंशी नदीमा डुबेर बेपत्ता भएको एसपी खतिवडाले बताए। सशस्त्र प्रहरी बल बराह बाहिनीबाट थप गोताखोर सहितको टोली परिचालन गरि बेपत्ता जवानहरूको खोजी भइरहेको सशस्त्र प्रहरीका कोसी प्रदेश प्रमुख डीआईजी कुमार न्यौपानेले बताए। उनले मधेश प्रदेश र कोसी प्रदेशको बीचमा रहेको सप्तकोसी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवानको खोजीमा पर्याप्त प्रहरी परिचालन गरिएको बताए।

सप्तकोसी नदीमा बाढी आएको समयमा अभ्यासको काम भएकाले धमिलो पानीका कारण उद्धार कार्यमा समस्या भएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए। उनले सप्तरी र सुनसरी दुवैतर्फ र भारतीय सुरक्षाकर्मीलाई समेत अनुरोध गरेर बेपत्ता सशस्त्र प्रहरीको खोजी कार्य भइरहेको बताए।

सशस्त्र प्रहरीले चितवनको कुरिनटारमा गोताखोर सहितको तालिम दिएर तालिम प्राप्त सशस्त्र प्रहरीलाई नेपालभरीका युनिटहरूमा खटाउँदै आएको छ। कुरिनटारमा तालिम लिएर दक्ष भएका सशस्त्र प्रहरीले अन्य सशस्त्र प्रहरीलाई तालिम दिएर दक्ष बनाउँदै आएका छन्। तर, बिहीबार सशस्त्र प्रहरीको मधेस कार्यालयले पूर्व तयारी नगरी सप्तकोसी नदीमा अभ्यासको तयारी गर्दा सशस्त्र प्रहरी बेपत्ता भएको दाबी गरिएको छ।

तपाईको प्रतिक्रिया