Online Bichar
शनिबार, कार्तिक २३, २०८२ | Saturday, November 8, 2025

काठमाडौं, १४ जेठ २०८२ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा पढेका चिकित्सकलाई रोजगारीका लागि लैजाने देशसँग रोयल्टी लिने व्यवस्था गरिने घोषणा गरेका छन् ।

एमबीबीएस अध्ययन गराउन सरकारको ठूलो लगानी हुने भन्दै मन्त्री पौडेलले त्यस्तो व्यवस्था आवश्यक रहेको बताए ।

‘अध्ययनका लागि विदेश जानेहरूमा यो नीति लागू नहुने तर रोजगारीका लागि जानेमा मात्र लागू गर्ने तयारी छ,’ मन्त्री पौडेलले भने ।

मन्त्री पौडेलले नेपालमा तयार भएका दक्ष चिकित्सक विदेश जाने समस्यालाई उजागर गर्दै भने, ‘हाम्रो विद्यार्थी स्कलरशीपमा एमबीबीएस पास गर्छ । योग्य, दक्ष रूपमा देशले उत्पादन गरेपछि अमेरिका लगायतका विकसित मुलुकमा जान्छन्।’

देशले उत्पादन गर्न योगदान गरे बापत केही रोयल्टी प्राप्त गर्नुपर्ने उनको तर्क छ । ‘हामीले योग्य, दक्ष बनाएर तयार गरेको जनशक्तिलाई सिधैं काममा लगाएपछि रोल्यटी तिनु पर्दैन,’ मन्त्री पौडेल भन्छन्।

मन्त्री पौडेलले यस विषयमा नीतिगत व्यवस्था मिलाउनका लागि छलफल अगाडि बढाउने बताए ।

‘कुनै कम्पनीले लग्यो, कुनै संस्थाले लग्यो या कुनै देशले लग्यो, त्यसले हामीलाई रोयल्टी तिर्नुपर्छ,’ मन्त्री पौडेल भन्छन्, ‘यसले दक्ष जनशक्ति बाहिर जान रोक्ने होइन तर देशले रोयल्टी लिने व्यवस्था मिलाउने हो ।’

 

तपाईको प्रतिक्रिया