Online Bichar
शनिबार, कार्तिक २३, २०८२ | Saturday, November 8, 2025

विराटनगर, १२ जेठ २०८२ । कोशी प्रदेशबाट पछिल्लो १५ दिनको अवधिमा ४५ जना फरार प्रतिवादी पक्राउ परेका छन्। विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरे पनि सजाय एवं जरिबाना भुक्तान नगरिकन लामो समयदेखि फरार रहेकालाई पक्राउ गर्न अभियान चलाइएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले बताए।

उनका अनुसार फरार प्रतिवादी पक्राउ अभियान प्रहरीको ‘मिसन’ नै हो। पछिल्लो २ सातामा प्रतिवादी पक्राउ गरेर १६ वर्ष कैद र २६ लाख रुपैयाँ जरिबाना असुल गरिएको जानकारी कार्कीले दिए। सोमबार पत्रकारसँगको भेटघाट एवं परिचयात्मक कार्यक्रमको आयोजना गर्दै डीआईजी कार्कीले प्रहरी सेवालाई परिणाममुखी र जनउत्तरदायी बनाइने बताए।

कार्कीले लागुऔषध मुलुककै समस्याका रूपमा देखा परेको उल्लेख गरे। पछिल्लो १५ दिनभित्रमा १ हजार २ सय किलोग्राम गाँजा र ३ सय ग्राम ब्राउन सुगर (खैरो हेरोइन) सहित विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको जानकारी डीआईजी कार्कीले दिएका छन्।

कार्कीले भन्सार छली एवं चोरी तस्करी नियन्त्रणमा प्रहरीले विशेष ध्यान दिने बताए। तस्करी नियन्त्रण गर्न विशेष अभियान चलाइने र त्यसलाई निरन्तरता दिने उनको भनाइ छ। उनले पछिल्लो २ साताभित्रमा प्रदेशभरिबाट ४ करोड बढीका अवैध सामान बरामद गरेर भन्सारमा बुझाइएको बताए।

तपाईको प्रतिक्रिया