काठमाडौं, ११ जेठ २०८२ । नेकपा एमालेले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको हो । उमेर हद लगाउने निर्णयसँगै सचिवभन्दा माथिका सबै पदाधिकारी बाहिरिने छन् ।
नेतृत्वको स्वभाविक दावेदार रहेका उपाध्यक्षहरू धर्म गिरी, मर्यादा बिष्ट, नारायण घर्ती र गोविन्द गिरी उमेर हदका कारण संगठनबाट बाहिरिनेछन् । अध्यक्ष पदका बलिया दाबेरदार रहेका महासचिव नरेश रोकाया पनि उमेर हदका कारण संगठनबाट बाहिरिनेछन् ।
सचिवहरू मनोज ताम्ली, सञ्जीव धिताल, आशिर्वाद सुवेदी र विनिता काफ्ले पनि उमेर हदका कारण संगठनबाट बाहिरिने भएका छन् ।
३२ वर्ष उमेर नकटेका सचिवहरु दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई र अञ्जना सिवाकोटीले भने नेतृत्वमा दावी गर्न सक्नेछन् । अर्थात् उमेर हदका कारण यी पदाधिकारी स्वभाविक नेतृत्वको दाबेदार बनेका छन् ।
अनेरास्ववियुको आगामी २५–२८ जेठमा महाधिवेशन हुँदैछ । कीर्तिपुरमा हुने यही महाधिवेशनबाट उमेर हद लगाउने एमालेले निर्णय गरेको छ । बैठक स्रोतका अनुसार पार्टी सचिव योगेश भट्टराईले आगामी महाधिवेशनबाट लागू हुनेगरी निर्णय गर्न प्रस्ताव गरेका थिए ।
‘अहिले अध्यक्ष हुने भनेर खालको तयारी धेरै अगाडि बढाइसकेका छन्, अर्कोपटक लागू गर्दा कसो होला ?’, सचिव भट्टराईले विकल्प प्रस्तुत गरेका थिए ।
तर अध्यक्ष केपी शर्मा ओलीले यही महाधिवेशनबाट उमेर हद लगाएर जानुपर्ने निर्णय सुनाए ।






