Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

झापा, १० जेठ २०८२ । झापाको कचनकवल गाउँपालिका–३ मागुरमारीस्थित पथरिया माध्यमिक विद्यालयको कर्मचारी नियुक्तमा चलखेल सुरु भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयनारायण यादव र कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले आआफ्ना नातेदारलाई विद्यालय सहायक कर्मचारीमा जागिर लगाउन खोज्दा विवाद बढेको हो। गत चैत १२ गते विद्यालयले एक जना माध्यमिक तह तृतीय श्रेणी (अङ्ग्रेजी शिक्षक) र एक जना विद्यालय कर्मचारी पदका लागि सूचना प्रकाशित गरेको थियो।

तर, विद्यालयको फेसबुक पेजमा शिक्षक पदको मात्र विज्ञापन राखिएको थियो। विद्यालय कर्मचारी पदको सूचना लुकाइएपछि त्यही दिनदेखि चलखेल सुरु भएको हो। शिक्षक पदमा विष्णु पोखरेलले मात्र आवेदन दिएका छन्। विद्यालय कर्मचारी पदमा तीन जनाको आवेदन परेको छ। लक्ष्मी भण्डारी, सिर्जना यादव र एकता राजवंशीले आवेदन दिएका छन्। उम्मेदवार सिर्जना यादव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवकी छोरी हुन् भने एकता राजवंशी गाउँपालिका अध्यक्ष राजवंशीकी नातेदारभित्र पर्छन्।

अर्का उम्मेदवार लक्ष्मी भण्डारी भने लक्ष्मी मावि बनियानीमा निजी स्रोतमा कम्प्युटर अपरेटरका रूपमा लामो समयदेखि कार्यरत छन्। तीनै उम्मेदवार सत्तारूढ दल नेपाली कांग्रेससँग आबद्ध भएपनि दुवै अध्यक्षले आआफ्नो नातेदारलाई अगाडि सार्ने अडानबाट पछि नहट्दा विवाद झन् किचलो बन्दै गएको छ।

विद्यालयले दुवै पदका गत वैशाख ७ गते परीक्षाको मिति तोकेको थियो। तर, अन्तिम समयमा आएर स्वास्थ्य समस्या देखाउँदै समितिका अध्यक्ष यादवले परीक्षा स्थगन गर्न विद्यालयका प्रधानाध्यापक गुणनाथ गुरागाईं निवेदन दिएका थिए। त्यसपछि विद्यालयले परीक्षा स्थगन गरेको थियो। समितिका अध्यक्ष यादव र गाउँपालिका अध्यक्ष राजवंशी दुवै कांग्रेसका नेता हुन्।

अध्यक्ष यादवले आफ्नो छोरीलाई र गाउँपालिका अध्यक्ष राजवंशीले आफ्नो नातेदारभित्र पर्नेलाई जागिर खुवाउन लाग्दा दुवैबीच आन्तरिक टसल बढ्दै गएको शिक्षक स्रोतको दाबी छ। कर्मचारीको मासिक तलब २० हजार रुपैयाँ रहेको जनाइएको छ। ‘त्यसैले दुवै अध्यक्ष जोडबलका साथ आफ्नो मान्छे छिराउन खोजिरहेका छन्,’ ती शिक्षकले थपे। शिक्षक पद ६ महिनाको करार रहेकोले एक जनाले मात्र आवेदन दिएको उनको भनाइ छ।

राजनीतिक स्वार्थका लागि कर्मचारी दरबन्दीलाई शक्ति प्रदर्शनको अखडा बनाइनु सार्वजनिक शिक्षाको शुद्धतामाथि सीधै प्रहार भएको शिक्षाविद्हरू बताउँछन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवले आफ्नो स्वास्थ्य आएको समस्याका कारण परीक्षा केही दिन पर सारेको बताए। कर्मचारी नियुक्तमा विवाद बढ्दै गइरहेकाले आफ्नो छोरीलाई परीक्षामा सामेल नगराउने उनले बताए। आफू अध्यक्ष भएको कारण छोरीको नाम जोडेर बदनाम गराउन खोजिँदैछ।

म अध्यक्षबाट राजीनामा दिन पनि तयार छु। ‘तर, परीक्षा चाहिँ निष्पक्ष र पारदर्शी हुनुपर्छ, कसैको हस्तक्षेपमा हुनु हुँदैन,’ उनले भने, ‘परीक्षा लिने विज्ञ गाउँपालिकाबाटै आउने हो, अब पनि कसैले हस्तक्षेप गरे त्यो कदापि मान्य हुने छैन।’
यता गाउँपालिका अध्यक्ष राजवंशीले शिक्षक र कर्मचारी नियुक्त विद्यालयबाट गठित परीक्षा समितिले गर्ने बताए। सोही समितिलाई विज्ञापन निकाल्ने, परीक्षा लिने र नियुक्ति दिने अधिकार हुन्छ। ‘गाउँपालिकाले परीक्षा लिन विज्ञ मात्र पठाउने भएकोले यसमा मेरो कुनै हस्तक्षेप हुँदैन,’ अध्यक्ष राजवंशी भने।

आवेदन दिएका तीन जना कर्मचारीमध्ये कोही पनि आफ्नो नातेदारभित्र नरहेको प्रस्ट्याउँदै उनले भने, ‘जागिरका लागि जो कोहीले पनि आवेदन दिएर परीक्षा दिन पाउँछ, आफन्त र नातेदार पर्‍यो भनेर परीक्षा नै दिन पाउँदैन भन्ने हुँदैन।’ वैशाख ७ गते हुने भनिएको परीक्षा स्थगनका विषयमा गाउँपालिका शिक्षा समितिले विद्यालयको परीक्षा समितिका अध्यक्षलाई लिखित पत्राचार गरेर जवाफ माग्ने उनको भनाइ छ।अन्नपूर्णपोष्टबाट

 

तपाईको प्रतिक्रिया