Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

झापा, १० जेठ २०८२ । राजावादीहरूले यही जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने तयारी गरिरहेका बेला पूर्व राजा ज्ञानेन्द्र शाह भोलि झापा आउने भएका छन् ।

उनी दुई हप्ते बसाइँका लागि दमक-९ स्थित हिमालयन महालक्ष्मी टी इस्टेटको मिनी दरबारमा आउने भएका हुन् । भोलि दिउँसो २ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गरी शाह दमकतर्फ जाने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । उनी जेठ २५ गतेसम्म झापामा रहने बुझिएको छ ।

पूर्व राजाको सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपालको टोली हिजो नै काठमाडौँबाट हिमालय महालक्ष्मी टी इस्टेटको मिनी दरबारमा आइसकेको छ । हिमालय महालक्ष्मी टी इस्टेटको मिनी दरबारमा केही दिनदेखि पूर्व राजाको परिवारका सदस्यहरूको आउन जाने क्रम चलिरहेको इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

पूर्व राजा शाहले दमकमा बसेर राजनीतिक भेटघाट गर्दै आएका छन् । राप्रपालगायतका राजावादी शक्तिहरूले जेठ १५ देखि अनिश्चित कालीन आन्दोलनको तयारी गरिरहेका बेला पूर्व राजा झापा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

तपाईको प्रतिक्रिया