Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

काठमाडौं, ७ जेठ २०८२ । जल तथा मौसम विज्ञान विभागले गत वर्षजस्तै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ ।

विभागले बुधबार ऋतुगत मनसुन प्रणालीको प्रक्षेपण सार्वजनिक गर्दै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने जनाएको हो ।

वरिष्ठ मौसमविद् विभूति पोखरेलले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना स्थान विशेष अनुसार फरक–फरक रहेको बताइन् । उनका अनुसार स्थान अनुसार सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ र ३५ देखि ४५ प्रतिशतसम्म बढी रहेको बताइन् ।

प्रिमनसुन सिजनमै सरदरभन्दा बढी वर्षा भएकाले माटोको चिस्यान बढेकाले मनसुनको सुरूवातमा हुने वर्षाले पनि क्षति पुर्‍याउन सक्ने उनको भनाइ छ ।

कहाँ कति प्रतिशत वर्षाको सम्भावना ?

जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली प्रदेशको पूर्वी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग र गण्डकी प्रदेशको अधिकांश भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

त्यसैगरी मधेश प्रदेशका पूर्वी तथा दक्षिणी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । देशका बाँकी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

अधिकतम तापक्रम पनि बढी हुने आँकलन

मनसुन अवधिमा अधिकतम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागको आँकलन छ ।

सुदूरपश्चिम प्रदेशको उत्तर–पूर्वी भूभाग, कर्णाली प्रदेशको उत्तरी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग, गण्डकी प्रदेशको पश्चिमी भूभाग, मधेश प्रदेशको भूभाग र बागमती प्रदेशको मध्य भूभागमा सरदरभन्दा बढी अधिकतम तापक्रम रहने संभावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।

त्यसैगरी मधेश प्रदेशको पूर्वी भूभाग र गण्डकी प्रदेशको मध्य भूभागमा सरदरभन्दा बढी रहने संभावना ३५ देखि ४५ प्रतिशत छ । देशका बाँकी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी हुने आँकलन

विभागले मनसुन अवधिमा न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको जनाएको छ । कर्णाली र आगमती प्रदेशका अधिकांश भू–भाग, लुम्बिनी प्रदेशको मध्य भूभाग, मधेश प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशको तराई भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको दक्षिण–पश्चिमी भूभाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भूभाग र कोशी प्रदेशको उत्तरी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत छ ।

देशका बाँकी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागको आँकलन छ ।

तपाईको प्रतिक्रिया