झापा, २५ वैशाख २०८२ । मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत “आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८१“ प्रति झापाका दन्त चिकित्सकहरुले आपत्ति जनाउँदै भोलिसम्म नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
देशव्यापी आन्दोलनअन्तर्गत जिल्लाका दन्त चिकित्सकहरुका तर्फबाट नेपाल डेन्टल एसोसिएसन झापाले आज प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै वैशाख ८ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत “आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८१“मा नेपाली जनताले पाउनुपर्ने आधारभूत स्वास्थ्य उपचारका लागि ५,१० र १५ शैयाको अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराख्नु सम्पूर्ण नेपाली जनतालाई अन्यायपूर्ण कदम भएको जनाएको छ ।
३ वर्ष अगाडि ५,१० र १५ शैयाको आधारभूत अस्पतालको प्रस्तावित दरबन्दी तेरिजमा दन्त चिकित्सक नराखिएको हुँदा बारम्बार ध्यानाकर्षण गराउने कार्य गरेको जनाउँदै मन्त्रालयका तत्कालीन स्वास्थ्य सचिवले १५ शैयामा दन्त चिकित्सकको दरबन्दी रहेको र स्वास्थ्य मन्त्रालयका प्रवक्ताले समेत रिपोर्टर्स क्लबको कार्यक्रममा १५ शैयाको अस्पतालमा दन्त चिकित्सकको दरबन्दीको लागि नेपाल सरकार सकारात्मक समेत रहेको जानकारी दिएको स्मरण गराइएको छ ।
दन्त चिकित्सक नेपालमा ६ हजार उत्पादन भएको तर, स्थाई दरबन्दी सयजना पनि नरहेको अवस्थामा १५ शैया अस्पतालमा समेत दन्त चिकित्सकको दरबन्दी नराख्दा नेपाली नागरिकलाई सरकारले नै भेदभाव गरेको आभास भएको जनाइएको छ । यो निर्णयलाई वैशाख २६ गते शुक्रबारसम्म सच्याउन अल्टिमेटम दिँदै अन्यथा नेपाल डेन्टल एसोसिएसन देशव्यापी रुपमा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ ।
नेपाल डेन्टल एसोसिएसन झापाका अध्यक्ष डा मुकेशकुमार शाह, महासचिव डा अक्कल गुरुधामीलगायतले प्रमुख जिल्ला अधिकारीमार्फत सो ध्यानाकर्षण पत्र बुझाएका थिए । साथै जिल्लाको डेन्टल क्षेत्र र डेन्टल चिकित्सकहरुको समस्याका बारेमा प्रजिअ अधिकारीलाई जानकारी गराइएको अध्यक्ष शाहले जानकारी दिएका छन् ।