Online Bichar
सोमबार, बैशाख २९, २०८२ | Monday, May 12, 2025

काठमाडौं, २५ वैशाख २०८२ । अमेरिकाले २० जना नेपालीलाई चार्टर्ड विमानबाट काठमाडौं ल्याएर छाडेको छ। ओम्नी एयरलायन्सको फ्लाइट नम्बर इब्भ्घज्ञद्धड बाट उनीहरूलाई बिहीबार काठमाडौं ल्याएर छाडिएको हो। पानामा सरकारको सहयोगमा अमेरिकाले २० जना नेपालीलाई काठमाडौंसम्म ल्याएको हो।

अमेरिकी जहाज ओम्नी एयरलायन्सको उक्त विमान भारतको दिल्ली हुँदै काठमाडौं आएको हो। स्रोतका अनुसार उनीहरू पानामाबाट गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए। पक्राउ परेका नेपालीहरूलाई पानामा सरकारको सहयोगमा अमेरिकाले नेपाल ल्याएको हो।

पानामाबाट मंगलबार उडान भरेको ओम्नी एयरलायन्सको उक्त विमान सेनेगल, सेनेगलबाट नाइजेरिया, नाइजेरियाबाट युगान्डा, युगान्डाबाट केन्या, केन्याबाट दिल्ली हुँदै काठमाडौं आएको हो।

अमेरिकाले पहिलोपटक यति धेरै संख्यामा पानामामा पक्राउ परेकालाई नेपाल फिर्ता पठाएको हो। यसअघि पनि अमेरिकाले एकपटक ११ जना र एकपटक ३ जनालाई चार्टर्ड विमानबाट काठमाडौं ल्याएको थियो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका नेपालीहरू निष्कासनमा पर्दै आएका छन्। स्रोतका अनुसार दैनिकजसो अमेरिकाबाट नेपालीहरू निष्कासन भई काठमाडौं अवतरण भइरहेका छन्।

धेरै नेपालीहरू अवैध बाटोबाट अमेरिका पुग्ने गरेका छन्। नेपालीहरू विभिन्न मुलुक हुँदै पानामा सीमाबाट अमेरिकामा गैरकानुनी प्रवेश गर्ने गरेका छन्। नेपालीहरूले आफ्नो ज्यानको जोखिम मोलेर लाखौं रुपैयाँ तिरेर अमेरिका पुग्ने गरेका छन्। सरकार र नेपालस्थित अमेरिकी दूतावासले पनि दलालको प्रलोभनमा परेर गैरकानुनी रूपमा अमेरिका प्रवेश नगर्न अपील गर्दै आएको छ।

 

तपाईको प्रतिक्रिया