झापा, २२ वैशाख २०८२ । भद्रपुर (झापा) चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म झापामा ७० जनाको ज्यान जाने गरी ९६६ वटा सवारी दुर्घटना भएका छन्।
जिल्ला ट्राफिक कार्यालय झापाका अनुसार मृत्यु हुनेमध्ये ५३ पुरुष, १२ महिला र पाँच बालबालक छन्। ट्राफिक प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार ती दुर्घटनामा परी ११७ जना गम्भीर घाइते र १,४२७ जना सामान्य घाइते भएका छन्।
उक्त अवधिमा १,४१३ सवारीसाधन दुर्घटनामा परेका थिए। तीमध्ये सबैभन्दा बढी ८७६ वटा मोटरसाइकल, १६२ टेम्पो, १४१ जीप र कार, ४५ बस, २८ ट्र्याक्टर, २२ ट्रक, सात टिपर, दुईरदुई डोजर र माइक्रो तथा सात अन्य सवारीसाधन रहेका छन्।
ट्राफिक नियम उल्लङ्घन गर्ने ४५ हजार ५९४ सवारीसाधनलाई कारबाही गरिएको छ। कारबाहीबाट तीन करोड चार लाख दुई हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। नौ महिनाको अवधिमा चार हजार १३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदा एक लाख ६५ हजार २४९ जना लाभान्वित भएको कार्यालयले जनाएको छ।यस घटनाले सवारी सुरक्षा र ट्राफिक सचेतनाको खाँचो झनै बढेको देखाएको छ।रासस