Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

विराटनगर, २१ वैशाख २०८२ । जिल्ला कारागार मोरङका एकजना थुनुवाको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको छ । कारागारका जेलर गौरव ढुंगेलले ठगी मुद्दाका थुनुवा रामेछापको दोरम्बा–सैलुङ गाउँपालिका–२ घर भएका ५४ वर्षीय प्रवीण तामाङको आइतबार बिहान मृत्यु भएको जानकारी दिए । श्वासप्रश्वासमा अचानक समस्या देखिएपछि तामाङलाई उपचारका लागि शनिबार साँझ विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा आइतबार बिहान ४ बजेतिर मृत्यु भएको हो । तामाङ अदालतको आदेशबाट २०८१ पुस १६ गते पुर्पक्षका लागि मोरङ कारागार चलान भएका थिए । आफूविरुद्धको ठगी मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा तामाङले ज्यान गुमाएका हुन् ।

सामान्य अवस्थामा अस्पताल भर्ना गरिएका तामाङको मृत्युको खबर आएको जेलर ढुंगेलले बताए । शवलाई कोशी अस्पतालमै राखिएको छ । घटनाका बारेमा तामाङको परिवारलाई खबर भइसकेको र परिवारका सदस्य एवं आफन्त आइपुगेपछि थप प्रक्रिया अघि बढाउने ढुंगेलले बताए ।

मोरङ कारागारमै कैद भुक्तान गरिरहेका १ जनाको यही वैशाख १५ गते मृत्यु भएको थियो । मोरङको उर्लाबारी नगरपालिका–१ घर भएका कैदी ४३ वर्षीय मित्रकुमार दनुवारको वैशाख १५ गते मृत्यु भएको थियो । दनुवार जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर अदालतबाट २५ वर्ष कैद सजाय सुनाइएका कैदी हुन् ।

लगातार बन्ता गर्न थालेपछि उनलाई उपचारका लागि चैत १३ गते कोशी अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा चैत १५ गते मृत्यु भएको जेलर ढुंगेलले बताए । दनुवार २०७८ साल असार ७ गते कारागार चलान भएका थिए ।

मोरङ कारागारमा क्षमताभन्दा ३ गुणाभन्दा बढी कैदीबन्दी राखिएको छ । महिला र पुरुष गरेर ३ सय जना क्षमताको कारागारमा आइतबार बिहानसम्ममा १ हजार ३८ जना कैदीबन्दी रहेका छन् । जसमध्ये नाबालक ३, महिला १ सय ७ र पुरुष ९ सय २८ रहेका हुन् ।

क्षमताभन्दा बढी कैदीबन्दी राख्नु परेका कारण कारागारको अवस्था भद्रगोल बनेको छ । कैदीबन्दीलाई खाने,बस्ने र सुत्ने ठाउँको समेत अभाव भइरहेको ढुंगेलले बताए ।

 

तपाईको प्रतिक्रिया