काठमाडौं, १९ वैशाख २०८२ । सरकारले स्टार्टअप उद्यमीलाई प्रोत्साहित गर्न स्टार्टअप कर्जा कार्यक्रम विस्तार गर्ने भएको छ। शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
उनले प्रदेश तथा स्थानीय सरकार एवम् निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा स्टार्टअप उद्यमीहरूलाई व्यवसाय संवर्धन, क्षमता अभिवृद्धि, सेवा, बजारीकरण र मूल्यश्रृङ्खला निर्माण गर्न सबै प्रदेशमा व्यवसाय संवर्धन केन्द्र स्थापना र सञ्चालन गर्ने सरकारको नीति रहेको बताए। यसैगरी इकमर्शमार्फत व्यापारको विकास गरिनेछ। बौद्धिक सम्पत्तिको संरक्षण तथा नवप्रवर्तन प्रवर्धन गरिनेछ।
देशभित्र विभिन्न स्थानमा रहेका पेट्रोलियम,फलाम, तामा, म्याग्नेसियम जस्ता खानीजन्य स्रोतको अध्ययन, अनुसन्धान र प्रवर्धनमा जोड दिइनेछ । धौवादी फलाम कम्पनीलाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गरिने राष्ट्रपति पौडेलले जानकारी दिए।