झापा, १८ वैशाख २०८२ । झापाको गौरादह र कमल क्षेत्रमा फैलिएको निर्माणाधीन नेपाल–चीन मैत्री औद्योगिक पार्कमा यतिबेला भारतीय नागरिकको मकैखेती फस्टाएको छ । चार वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि निर्माण अलपत्र परेको ३ सय बिघा जमिनमा अवैध रूपमा भारतीयले मकैखेती गर्दै आएका हुन् ।
भारतीयले गरेको मकै खेतीबारे स्थानीय सरकार बेखबर छ । दमक नगरपालिका–१०, गौरादह नगरपालिका–५ र कमल गाउँपालिका–७ को रतुवा नदी आसपासको पार्क क्षेत्र अहिले मकैले हरियाली देखिन्छ । यो जग्गा सरकारले एक अर्ब २२ करोड रुपैयाँ खर्चेर अधिग्रहण गरिसकेको छ ।
सरकारले अधिग्रहण गरेको जमीनमा भारतीयले कसरी मकै खेती गरे स्थानीय सरकार अनभिज्ञ छ । गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदी भन्छन्, ‘सरकारी नाममा आइसकेको जमिनमा अब विदेशी नागरिक आएर मकै खेती गरेको भर्खरै थाहा पाइयो यो त गम्भीर कुरा हो ।’
भारतीय नागरिक फिरोज खानको संलग्नतामा भारतबाट मानिस बोलाएर मकैखेती गरिएको हो । अवैध मकैखेतीबारे औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी कृष्णबहादुर पुनका अनुसार मकै खेती बारे जानकार रहेको र अध्ययन गर्न प्राविधिक टोली पठाउने तयारी भइरहेको बताउँछन् ।
इलाका प्रशासन कार्यालय गौरीगन्जका प्रमुख शिवप्रसाद सुवेदीको नेतृत्वमा गएको प्रहरी टोलीले अवैध खेती पुष्टि गरिसकेको छ । तर, मकै खेतीबारे ठोस निर्णय लिन स्थानीय सरकार र प्रशासनले सकेका छैनन् ।
नेपाल–चीन मित्रताको प्रतीक बन्ने भनिएको औद्योगिक पार्कमा भारतीय नागरिकले मकै रोप्नु केवल जग्गा अतिक्रमणको मामिला मात्र होइन । यो भू–राजनीतिक दृष्टिकोणले पनि गम्भीर विषय हो । नेपाल–भारत सीमा क्षेत्रको केवल २० किलोमिटरभित्र पर्ने यो जग्गा भारतको रणनीतिक दृष्टिकोणमा पर्ने क्षेत्र हो । यो घटनाले भारतको आर्थिक तथा सामाजिक प्रभाव विस्तार भइरहेको संकेत दिएका विज्ञहरु बताउँछन् । कान्तिपुरबाट