चितवन, १८ वैशाख २०८२ । बीमा बापत पाउनुपर्ने भुक्तानी रकम नपाएको भन्दै चितवनको भरतपुर अस्पतालले आगामी जेठदेखि बीमामार्फत् दिइने सबै उपचार सेवा रोक्ने तयारी गरेको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले चालु आर्थिक वर्षको बीमामार्फत उपचार गरेबापत पाउनुपर्ने करोडौं रकम नपाए जेठदेखि बीमामार्फत दिइने सबै सेवा रोक्ने चेतावनी दिए ।
उनले दैनिक सयौं बिरामीले बीमा मार्फत उपचार सेवा लिएको रकमको शोधभर्ना पटक-पटक माग गरे पनि नपाएको गुनासो गरे ।
यो महिनाभित्र कम्तीमा पनि २५ करोड रकम शोधभर्ना बापत नआए बीमाका कार्यक्रम रोक्ने उनको चेतावनी छ ।
मेसु पौडेलका अनुसार स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा एक रुपैयाँ पनि पैसा दिएको छैन । गत वर्षको बाँकी ३६ करोड रकम आए पनि चालु वर्षको रकम नआएको उनले बताए ।
‘कार्यक्रम चलाएर मात्रै भएन, पैसा पनि आउनुपर्यो, कर्मचारी र स्वास्थ्यकर्मीको तलब भत्ता दिनुपर्यो, औषधि खरिदको रकम दिनुपर्यो, रकम नदिए कसले दिन्छ सधैं औषधि रु यसै पनि सेवा प्रभावित हुने नै भयो’ मेसु डा। पौडेलले भने, ‘वैशाखमा रकम नआए जेठमा कडा निर्णय लिने छौं, यसको निर्क्यौल र समाधान छिटो हुनुपर्छ ।’
मेसु पौडेलले एमआरआईको मात्रै ४ करोड रकम लिनुपर्ने बाँकी रहेको बताए । उनले भरतपुर अस्पतालको शोधभर्ना बापतका दावी भुक्तानी माग गरिएको रकम झन्डै ६० करोड रुपैयाँ पुग्न लागेको बताए ।
बोर्डले शोधभर्ना रकम नदिएपछि अस्पतालले बीमामार्फत् गर्दै आएको विभिन्न २४ वटा प्रयोगशाला परीक्षण बन्द गरिसकेको छ । यी परीक्षणको रकम अहिले सर्वसाधारण नागरिकले आफैंले तिर्न थालेका छन् । अस्पतालले गएको २८ चैतमा सूचना प्रकाशन गरी भिटामिन डी, क्याल्सियम, फोलिक एसिड, भिटामिन बी१२ लगायतका परीक्षण स्वास्थ्य बीमामार्फत् गर्न नसकिने जनाएको थियो ।
अस्पतालले औषधि, रिएजेन्ट लगायत गरी करिब १४ करोड रूपैयाँ तिर्न बाँकी रहेको मेसु पौडेलले बताए । अस्पतालको केही आन्तरिक आम्दानीबाट जेनतेन अस्पताल चलाएको उनको दाबी छ ।
भरतपुर अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत बिरामी बीमामार्फत् उपचार गराउने बिरामी हुन् । अस्पतालले महिनामा ७ करोड बराबरको बीमा बापतको रकम शोधभर्ना माग्ने गरेको छ ।
स्वास्थ्य बीमा भएका बिरामीले सरकारी अस्पतालमा १० प्रतिशत उपचार खर्च तिर्नुपर्छ । बाँकी ९० प्रतिशत खर्च बीमा बोर्डले अस्पताललाई शोधभर्ना दिने गर्छ ।