Online Bichar
सोमबार, बैशाख २९, २०८२ | Monday, May 12, 2025

विराटनगर, १२ वैशाख २०८२ । टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजार शुक्रबार करिब ३ घण्टा तनावग्रस्त बन्न पुग्यो ।

दुर्घटनालगत्तै जम्मा भएको भिडको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले हवाईफायर र अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार विराटनगर–विराटचोक सडक खण्डअन्तर्गतको हरैँचा बजारमा ना १ क ६२७० नम्बरको टिपरले प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीको दुहबी नगरपालिका–९ का ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटना शुक्रबार बिहान १०ः५० बजेतिर भएको हो । विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको टिपरले सोही दिशातर्फ आउँदै गरेको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । दुर्घटनालगत्तै भिड जम्मा भएर विराटनगर–विराटचोक सडक खण्ड अवरुद्ध बनाउँदै प्रदर्शन र ढुंगामुढा गर्दा स्थिति तनावग्रस्त बन्न पुगेको उनको भनाइ छ ।
अवस्था नियन्त्रण बाहिर जान नदिन मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशी र अर्का डीएसपी मदन केशीको नेतृत्वमा ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको थियो । विभिन्न युनिटबाट थप मद्धताका लागि प्रहरी लगियो । ठूलो संख्यामा सशस्त्र प्रहरीसमेत परिचालन गरिएको थियो ।

एसपी चिमरियाका अनुसार आक्रामक र उत्तेजित बनेको भिडले ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन ९ राउण्ड हवाईफायर र ८ सेल अश्रुग्यास प्रहार गरिएको छ । वरपरका करिब ४–५ सय जनाको भिडले घटनास्थलमा रहेको टिपर हटाउने क्रममा ढुंगामुढा गरेको उनले बताए ।
मृतकको शवलाई सडकबाट उठाउन अवरोध गर्दै भिडले प्रदर्शन र ढुंगामुढा गर्न थालेपछि अवस्था निक्कै बेरसम्म तनावपूर्ण बनेको हो । प्रदर्शनमा उत्रिएका स्थानीयले शव सडकमै राखेर प्रदर्शन गर्दै टिपरमा आगजनीको प्रयास गरेका थिए । निरन्तर ढुंगामुढा गरेका थिए । ढुंगा प्रहारबाट डीएसपी जोशी घाइते भएका छन् । अनुहारमा ढुंगाले लागेका उनको अवस्था सामान्य रहेको छ । उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ ।
एसपी चिमरियाका अनुसार अवस्था नियन्त्रण बाहिर जान नदिन सामाय बल प्रयोग गरेर हवाईफायर र अश्रुग्यास प्रहार गर्नु पर्ने अवस्था आएको हो । सम्झाइबुझाइ गर्दा पार नलागेपछि स्थिति भड्किन नदिन बल प्रयोग गरिएको उनको भनाइ छ ।

प्रहरीले बल प्रयोग गरेपछि भिड तितरबितर भएको थियो । त्यसपछि प्रहरीले समन्वय गरेर मृतकको शवलाई घटनास्थलबाट उठाउँदै पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ । दिउँसो २ बजेपछि हरैँचा बजारको अवस्था सामान्य बनेको जानकारी एसपी चिमरियाले दिए ।

उनका अनुसार प्रदर्शनकारीले सडक अवरुद्ध गरेका कारण करिब ३ घण्टा सवारीसाधन ‘डाइभर्ट’ गर्नु परेको थियो । सवारीसाधन ‘डाइभर्ट’ गर्न ट्राफिक प्रहरी परिचालन गरिएको थियो । मोटरसाइकललाई ठक्कर दिने टिपरलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको छ ।

सडकबाट शव उठाउन अवरोध गर्दै प्रदर्शनमा उत्रिएको भिडले टिपरको तीव्र गतिका कारण दुर्घटना भएको आरोप लगाएको छ । स्थानीयले सडकमा टिपरको दादागिरी बढेको गुनासो गरेका छन् । टिपरको दादागिरी बन्द गर्नुपर्ने, उक्त सडकमा टिपर सञ्चालनमा रोक लगाउनुपर्ने, मृतकलाई क्षतिपूर्ति हुनुपर्ने, चालकमाथि कारबाही गर्नुपर्नेलगायतका माग राखेर प्रदर्शन भएको प्रहरीको भनाइ छ ।

गिट्टी लोड गरिएको टिपरको तीव्र गतिकै कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार कान्छाराम कन्स्ट्रक्सनको टिपर विराटनगरका अभिषेक गिरीले भाडामा लिएर निर्माण सामग्री ढुवानीमा प्रयोग गर्दै आएको पाइएको छ ।

दुर्घटनालगत्तै प्रहरीले टिपर चालक बारा घर भइ मोरङको सुन्दरहरैँचा–१२ मा बस्दै आएका २५ वर्षीय पवन योन्जनलाई नियन्त्रणमा लिएको थियो । एसपी चिमरिया संयमता र सावधानी अपनाएर प्रहरीले सुरक्षा सतर्कता बढाएका कारण ठूलो क्षति हुन नपाएको बताउँछन् । घटनाको थप अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए ।

तपाईको प्रतिक्रिया