Online Bichar
सोमबार, बैशाख २९, २०८२ | Monday, May 12, 2025

काठमाडौं, १२ वैशाख २०८२ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्तामा बोलाएका नेपाल शिक्षक महासंघ नेताहरू सिंहदरबारको गेटबाटै फर्किएका छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिएका हुन् ।

अध्यक्ष सुवेदीले मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय वार्ता टोली महासंघले तयार नगरेको समेत बताए । मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली महासंघले तयार नगरेको भन्दै उनीहरू बैठक बहिस्कार गरेर गेटबाटै फर्किएको बताइएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ । तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ ।’

विद्यालय शिक्षा ऐन कार्यान्वयनको माग गर्दै करिब एक महिनादेखि सामुदायक विद्यालयका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् । सर्वोच्च अदालतले पनि शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गरी तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई आदेश जारी गरेको छ ।

 

तपाईको प्रतिक्रिया