विराटनगर, ३ वैशाख २०८२ । कोशी प्रदेशमा ५४ वटा परियोजनामार्फत १ खर्ब ३९ अर्ब रूपैयाँ भित्र्याउने लक्ष्यसहित पहिलोपटक लगानी सम्मेलन गर्न लागिएको छ। प्रदेश सरकारले गर्ने सम्मेलनको अन्तिम तयारी पूरा भएको विराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रदेश राजधानी विराटनगरमा वैशाख १८ र १९ गते हुने सम्मेलनले रोजगारी सिर्जना र व्यावसायिक क्षेत्रमा उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश लगानी सम्मेलन, २०२५ को सचिवालयले प्रदेशलाई आर्थिक समृद्धि र विकासमा अगाडि बढाउन सम्मेलन गर्न लागिएको जनाएको छ। सम्मेलन यसअघि २०८१ माघ ११, १२ र १३ गते गर्ने भनिएको थियो। तर, व्यवस्थापनको जिम्मा उद्योग संगठन मोरङलाई दिन खोजिएको भन्दै निजी क्षेत्र विभाजित भएर विवाद बढेपछि निर्धारित समयमा सम्मेलन हुन सकेन।
अब भने सबै तयारी पूरा भइसकेकाले सम्मेलन नरोकिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए। प्रदेश सरकारले पर्यटन वर्ष, २०८२ घोषणा गरेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। पर्यटन प्रवर्धनमार्फत प्रदेशको समृद्धिलाई अगाडि बढाउन सकिन्छ भन्ने विश्वासका साथ पर्यटन वर्ष घोषणा गरिएको कार्कीले बताए। उनका अनुसार सीमित स्रोत साधनको उपयोग गर्दै प्रदेशको विकास, औद्योगिक वातावरणको निर्माण, रोजगारी सिर्जना र व्यावसायिक क्षेत्रमा उत्साह प्रदान गर्न लगानी सम्मेलन गर्न लागिएको हो।
सम्मेलनमार्फत कोशीमा लगानीको वातावरण बनाएर सम्भावनाका नयाँ क्षेत्रहरू खोजी गरी उद्योगहरू स्थापनामार्फत पुँजी निर्माण, गरिबी निवारण र रोजगारी सिर्जना गर्नका लागि प्रेरित गर्ने उद्देश्य रहेको सचिवालयका संयोजक तथा प्रदेश सचिव पवनकुमार तिमिल्सेनाले बताए। स्थानीय तह, संघीय सरकार र निजी क्षेत्रको सहकार्य र समन्वयमा लगानी सम्मेलनको तयारी अगाडि बढेको उल्लेख गर्दै उनले सम्मेलनमार्फत प्रदेशमा लगानीका लागि आवश्यक स्रोतको सुनिश्चितता गरी औद्योगिकीकरणको वातावरण निर्माण गरिने बताए।
प्रदेशमा स्वदेशी, निजी एवं प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नवीनतम् प्रविधि तथा ज्ञान परिचालनका लागि यो सम्मेलनले आधार तयार गर्ने तिमिल्सेनाको दाबी छ। ‘कानुनी र नीतिगत एवं प्रक्रियागत सुधार गरी प्रदेशमा थप लगानीमैत्री वातावरण निर्माण हुने विश्वास लिएका छौं,’ उनले भने। यो सम्मेलनपछि कोशी प्रदेश नेपालकै एक प्रमुख लगानी गन्तव्यको रूपमा परिचित र स्थापित हुने अपेक्षा गरिएको छ।
लगानी सम्मेलनले प्रदेशको दोस्रो आवधिक योजनाले आर्थिक विकासमा लिएका लक्ष्य पूरा गर्दै ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को दीर्घकालीन सोच हासिल गर्न प्रत्यक्षरूपमा सहयोग पुग्ने विश्वाससमेत गरिएको छ। सम्मेलन सम्पन्न गर्नका लागि हालसम्म सम्पूर्ण समितिहरूको निर्माण र सचिवालय गठन भई कार्यहरू अघि बढेको तिमिल्सेनाको भनाइ छ। ‘सोकेस’ गरिने परियोजनाहरूको छनोटका कामहरूको तयारी अन्तिम चरणमा पुगेको उनले बताए।
नीतिगत तथा कानुनी सुधारका क्षेत्रमा पनि पूर्वतयारी भइरहेको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार कोशी प्रदेशमा सार्वजनिक, निजी साझेदारीअन्तर्गतका परियोजनाहरूलाई कार्यान्वयनका लागि सरलीकृत वातावरण निर्माण गर्न कानुनी, नीतिगत सुधार र प्रशासनिक सहजता प्रदान गर्ने तयारी छ। सम्मेलनमा तीन तहकै जनप्रतिनिधिहरू, नीति निर्माण तहमा कार्यरत व्यक्तित्वहरू, कूटनीतिक नियोग तथा विकास साझेदारहरू, स्वदेशी तथा विदेशी लगानीकर्ता, लगानीको क्षेत्रमा काम गर्ने अनुसन्धानकर्ता तथा विज्ञहरु, आर्थिक विषयका शोधकर्ताहरू, उद्योग वाणिज्य क्षेत्रका छाता संगठन र उद्योगी व्यवसायीहरू तथा सरोकारवालाको सहभागिता रहने छ। सम्मेलनमा विज्ञहरूको सहभागितामा समष्टिगत र विषयगत क्षेत्रका सत्रहरू सञ्चालन हुनेछन्।
विषयगत सत्रहरूमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, स्वास्थ्य सेवा, पूर्वाधारका विविध पक्षमा छलफल हुनेछ। लगानी सम्मेलनमा ८ वटा क्षेत्रका करिब ५४ वटा परियोजना ‘सोकेसिङ’ हुने सचिवालयले जनाएको छ। मुख्यमन्त्री कार्कीले ‘सोकेस’मा परेका आयोजना, लगानीका लागि रहेको बाधा हुने खालका कानुन र नीतिहरू संघीय सरकारसँगको समन्वयमा संशोधन गर्ने प्रक्रिया लगायतका सबै विषयमा तयारी पूरा भएको बताए। लगानी सम्मेलनमा मुख्य गरी कृषि, पर्यटन क्षेत्रका योजनासहित उद्योग र आइटी क्षेत्रलाई पनि समेटिने उनको भनाइ छ।
कार्कीले लगानी सम्मेलनमार्फत प्रदेशमा लगानीको वातावरण बन्ने, रोजगारी सिर्जनामा सहयोग पुग्ने, राष्ट्रिय पुँजीको विकास र राष्ट्रिय आयमा वृद्धि हुने बताए। विगतका लगानी सम्मेलनबाट पाठ सिक्दै अधिकतम लगानी भित्र्याउन र लगानीको सुनिश्चितताका लागि सम्मेलनलाई केन्द्रित गरिने उनले बताए। ५४ वटा योजनामार्फत सम्मेलनमा १ खर्ब ३९ अर्ब रूपैयाँ रुपैयाँको परियोजना ‘सोकसिङ’ गर्ने तयारी प्रदेश सरकारको छ। सम्मेलनमा सुनिश्चित भएको लगानी कार्यान्वयनमा लैजानका लागि समेत सचेत भएर काम गरिरहेको मुख्यमन्त्री कार्कीले बताए।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लगानी सम्मेलनका लागि सबै खालका कानुनी अड्चनहरू फुकाउने गरी काम भइरहेको बताए। लगानी सम्मेलनलाई लक्षित गरेर कानुनहरू संशोधन गर्ने र नयाँ कानुन बनाउने काम भइरहेको जानकारी भण्डारीले दिए। ८ वटा प्रदेश कानुन संशोधन गर्ने र एउटा नयाँ कानुन बनाउने क्रममा रहेको उनले बताए।
स्थानीय तह, संघीय सरकार, निजी क्षेत्रको सहकार्य एवं समन्वयमा सम्मेलनको तयारी गरिएको उनको भनाइ छ। कोशी प्रदेशमा सार्वजनिक, निजी साझेदारीअन्तर्गतका परियोजनाहरूलाई कार्यान्वयनका लागि सरलीकृत वातावरण निर्माण गर्न कानुनी, नीतिगत सुधार र प्रशासनिक सहजता प्रदान गरिने जानकारी मन्त्री भण्डारीले दिए।
लगानी प्राधिकरणका कार्यकारी अधिकृत सरोज कोइरालाका अनुसार पर्यटन क्षेत्रमा १५ वटा र भौतिक पूर्वाधारमा १४ वटा योजना बनेका छन्। त्यस्तै लगानी सम्मेलनमा कृषिका ९ र उद्योगका ९ वटा, सूचना प्रविधि क्षेत्रमा २ वटा तथा वेस्ट म्यानेजमेन्ट क्षेत्रका २ वटा परियोजना ‘सोकेसिङ’ भएको उनले बताए। उनका अनुसार होटल, रिसोर्ट, वाटर पार्कलगायतका योजना ‘सोकेसिङ’ भएका छन्। पहिले सञ्चालन भएर बन्द भएका तथा अहिले सञ्चालनमा रहेका केही परियोजनालाई समेत ‘सोकेसिङ’मा राखिएको जानकारी कोइरालाले दिए।अन्नपूर्णपोष्टबाट






