Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

काठमाडौं, ३ वैशाख २०८२ । तीनकुनेमा चैत १५ मा राजावादी समूहले गरेको प्रदर्शनमा एक निजी घरमा आगजनी गर्दै गरेको भिडियो भाइरल भएको छ ।

उक्त भिडिओ सार्वजनिक भएसँगै प्रहरीले गरेको अनुसन्धानले आगो लगाउँदै गरेका युवाहरु प्रदर्शनका कमान्डर विवादित व्यवसायी दुुर्गा प्रसाईंकै कमान्डमा तीनकुनेमा सहभागी हुन आएका प्रदर्शनकारी भएको पुष्टि गरेको हो ।

सोही आगजनीमा परेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो । राजतन्त्र पुनःस्थापनाका संयोजक नवराज सुवेदीले भने प्रदर्शनमा घुसपैठ भएको भन्दै आगजनीबारे निष्पक्ष छानबिन गर्नुपर्ने बताउँछन् ।

उनले भनेका छन्, ‘‘अगजनी तथा अराजक प्रदर्शन हामीले गरेका होइनौँ । यसमा निष्पक्ष छानबिन गरे सबै खुलिहाल्छ । सरकार किन छानबिन समिति बनाइराखेको छैन? बनाउनु पर्‍यो नि हाम्रो गल्ती भए हामी फासी जान तयार छौँ ।’’

तर आगजनी गर्दै गरेको भिडिओमा देखिएका युवाहरु राजतन्त्रको लागि अभियान चलाउँदै आएको ‘एनी टाइम फोर्स’ (एटीएफ) मा आवद्ध भएका युवाहरु रहेको खुलेको छ । एटीएफका संयोजक भने धादिङका सन्तोष कुमार सिलवाल उर्फ राजावादी हुन् ।

आगजनीमा संलग्नमध्ये रामेछाप सुनापाति गाउँपालिका–१ का २२ वर्षका सरोज गौतम र अछामको पञ्चदेवलका २० वर्षीय गोकर्ण शाही पक्राउसमेत परिसकेका छन् । उनीहरु दुवैजना एटीएफका सदस्य रहेको र अनुसन्धान अझै जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

परिसरका एसपी अपिल बोहराका अनुसार गौतम एटीएफका प्रवक्ता र शाही सदस्य रहेको खुलेको हो । दुवैजना एटीएफका सदस्य रहेको पुष्टि भएको र आगो लगाउँदै गरेको भिडिओसमेत उनीहरुकै समूहका अर्का व्यक्तिले खिचेको भेटिएको एसएसपी अधिकारीले बताए ।

‘‘भिडिओसमेत उनीहरुकै समूहले खिचेको देखिन्छ । भिडिओ खिच्ने व्यक्तिलाईसमेत हामीले नियन्त्रणमा लिइसकेका छौँ,” एसएसपी अधिकारीले भने ।

उनीहरु दुवैजना जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । प्रहरीका अनुुसार तीनकुनेको उक्त घरमा आगजनी हुनुपूर्व उनीहरु दुर्गा प्रसाईंले निषेधित क्षेत्र तोड्न प्रहरीलाईसमेत किच्नेगरी चलाएको गाडीमासमेत बसेको पाइएको छ ।

प्रहरीले नियन्त्रणमा लिएर दुर्गासहित सबै प्रदर्शनकारीलाई फिर्ता पठाएपछि भने उनीहरुले निजी घरमा आगजनी गर्न थालेका हुन् । प्रहरीको अनुुसन्धानका क्रममा एटप्एफका कमान्डर सन्तोष राजावादी भने अझै फरार छन् ।
सन्तोषले केही वर्ष अघिदेखि नै यो समूह निर्माण गरेका हुन् ।

यो बाहेक प्रदर्शनमा दुर्गा प्रसाईंको पिपुल्स डिफेन्स फोर्स ९पीडीएफ० समेत सहभागी थिए । यसरी नै पशुपति खड्काको हिन्दु युवा संघ र रोयल टाक्स फोर्स समेत सहभागी थिए । तीनकुनेको प्रदर्शन सुरुमा अराजक गर्न खोज्ने पनि सन्तोष राजावादी र पशुपति खड्काकै समूह रहेको प्रहरी दाबी छ ।

पशुपति पक्राउ परे पनि सन्तोष राजावादी भने अझै फरार छन् । सन्तोष राजावादीले २०८० जेठमा नेकपा एसका नेता पूर्व प्रधानमन्त्री झलनाथ खनाल सहभागी कार्यक्रममा खनाल बोल्दाबोल्दै अभद्र व्यवहार गरेका थिए ।

त्यो बेला खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि सिंहासनको सपना नदेख्न, बरु राप्रपाको अध्यक्ष बन्न सुझाव दिएका थिए । त्यही विषयलाई लिएर खनालको कार्यक्रम विथोल्न सन्तोष राजावादी समूह अनामनगर पुगेका थिए ।

उक्त कार्यक्रममासमेत आगजनी गर्ने गौमत र शाही दुवैजना सहभागी थिए । त्यो बेलासमेत सन्तोषसँगै उनीहरु सात जना पक्राउ परेको खुलेको छ ।

प्रहरीले तीनकुने प्रदर्शनमा अराजकता मच्चाएर भाग्ने कमान्डर दुर्गा प्रसाईंलाई शुक्रबार बिहान झापाबाट पक्राउ गरेको छ । यसरी नै चैत १५ गते नै प्रहरीले प्रदर्शन अराजक गराउन भूमिका खेलेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद धवलशमशेर राणासहितका ८२ जनालाई मुद्दा चलाएको छ ।

अझै सन्तोष राजावादीसहित दर्जनौँ फरार छन् । उनीहरुकोसमेत खोजी तीव्र पारिएको छ । पक्राउ परेका माथि प्रहरीले संगठित अपराध, राज्यविरुद्धको कसुरमा अनुसन्धान थालेको छ । दुर्गा प्रसाईंमाथि भने ज्यान मुद्दा, समाजिक उपद्र र आगजनीलगायतका मुद्दा पनि चलाउने गृहकार्य प्रहरीको छ । बाह्रखरीबाट

तपाईको प्रतिक्रिया