२ वैशाख २०८२ । रोजगारीका लागि मलेसिया पुगेका दुई नेपाली बेपत्ता भएका छन् । विभिन्न समयमा मलेसिया पुगेर दुई नेपाली युवा सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन क्वालालम्पुरस्थित नेपाली दूतावासले अनुरोध छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिका–३ निवासी राहदानी नं ०९६२१९६२ भएका श्यामलाल सुनार २०७४ सालमा एक ओभर्सिज म्यानपावरमार्फत मलेसियाको केलान्तानमा अवस्थित पेलान भन्ने स्थानमा इभर ग्रिन कम्पनीमा काम गर्दै रहेको र करिब २ वर्षदेखि बेपत्ता भएको परिवारले जनाएको छ ।
सुनारको खोजीकार्य गरिदिन परिवारले नेपाली दूतावासलगायत मलेसियामा क्रियाशील नेपाली संघसंस्थालाई अनुरोध गरेको छ । यसैगरी, महोत्तरी जिल्लाको साबिक एकरहिया गाविस–७ हाल पिपरा गाउँपालिका वडा नं. २ बस्ने विनोद मण्डलका छोरा विकासकुमार मण्डल पनि ८ वर्षपहिले मलेसियाको अटा इन्डस्ट्रियल (एम) एसडीएन बीएचडी कम्पनीमा पुगेर काम गर्न थालेका थिए ।
तर, पछिल्लो दुई महिनादेखि उनी घरपरिवारसँग सम्पर्कविहीन रहेको भन्दै खोजी गरिदिन अनुरोध गरेका छन् । उनलाई कोही कसैले कतै देखेमा सम्बन्धित निकायमा जानकारी गराइदिन दूतावासले अनुरोध गरेको छ । दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघसंस्थालाई आग्रह गर्ने गरेको छ । आजको राजधानी दैनिकमा खबर छ ।