Online Bichar
बुधबार, बैशाख १०, २०८२ | Wednesday, April 23, 2025

काठमाडौं, २८ चैत २०८१ । बुधबार पाँच जिल्लामा आगलागीका घटना हुँदा ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । बारा, रौतहट, धनुषा, कपिलवस्तु र उदयपुरमा आगलागीका घटना भएका हुन् ।

नेपाल प्रहरीका अनुसार विहीबार बिहान बाराको बारागढी गाउँपालिका-४ सुखीपथरा बस्ने हरिन्द्र प्रसाद कामीको कुखुरा फर्ममा आगलागी भएको छ । आगलागीमा करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यसैगरी रौतहटको राजपुर नगरपालिका मोटरसाइकल वर्कसप, पान पसल, मिठाइ पसल र बस टिकट काउन्टरमा बुधबार राति आगलागी भएको छ । मन्जर आलमले सञ्चालन गरेको बस टिकट काउन्टरमा विद्युत् सर्ट भएर बुधबार राति आगो लागेको हो ।

आगोमा जलेर राजपुर नगरपालिका–६ बस्ने प्रमोद साह कलवारको मोटरसाइकल वर्कशप, सोही नगरपालिका(५ बस्ने शेख एकरामुलको पान पसल, रहमत अलीको मिठाई पसल र बसको टिकट काउन्टरमा क्षति पुगेको छ । आगलागीबाट करिब १२ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको रौतहट प्रहरीले जनाएको छ ।

यस्तै धनुषाको सबैला नगरपालिका–१२ टोकी बस्ने चन्देश्वर कुँवरको घरमा बुधबार साँझ आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–३ जमहरी बस्ने भुसाहे यादवको गोठमा बुधबार राति आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–६ जलजले बस्ने नरमाया श्रेष्ठ र विना गुरूङको गोठमा बुधबार राति आगलागी हुँदा दुबै जनाको गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । सो आगलागीमा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको अनुमान छ ।

ती आगलागीका घटनाहरुमा प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया