झापा, २५ चैत २०८१ । महिला प्रहरीमाथि हातपात गर्ने हल्दिवारीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । गएराति ९ बजे हल्दिवारी गाउँपालिका वडा नम्वर २ वस्ने देवराज घिमिरेकी श्रीमती ३१ वर्षीया पवित्रा माखिम घिमिरेले मादक पदार्थ सेवन गरी घरपरिवारका सदस्यहरुलाई गालीगलौज एवं अपशव्द प्रयोग गरी झैझगडा गरिरहेकी थिइन् । त्यसको खबर पाएपछि प्रहरी चौकी हल्दिवारीबाट प्रहरी सहायक निरीक्षक कृष्णवहादुर मगरको कमाण्डमा महिला प्रहरीसहित टोली गएको थियो ।
झगडा गरिरहेकी ती महिलालाई सम्झाउने क्रममा उनले महिला प्रहरीमाथि नै हातपात गरेकी हुन् । उनले इलाम माइजोगमाई गाउँपालिका ४ घर भई इलाका प्रहरी कार्यालय बिर्तामोडमा दरवन्दी भएकी प्रहरी चौकी हल्दिवारीमा कार्यरत प्रहरी जवान प्रनिता देवानमाथि हातपात गरेकी हुन् । देवानको दुवै आँखामाथि सामान्य चोट लागेको छ । उनलाई स्थानीय मेडिकलमा उपचार गराइएको थियो ।
प्रहरी जवान देवानको चुस्तासमेत च्यातिएको छ । यसरी प्रहरीमाथि हातपात गर्ने घिमिरेलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।