Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

फिदिम, २२ चैत २०८१ । आगलागीमा परी पाँचथरको कुम्मायक गाउँपालिकामा एक युवतीको मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् । घाँस काट्न गएको बेला जंगलमा लागेको आगोले जलेर घाइते भएकी २२ वर्षीया प्रतिमा सम्बाहम्फेको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुम्मायक-३ ताम्राखु भन्ने ठाँउको जंगलमा लागेको आगोले जलेर सम्बाहम्फे गम्भीर घाइते भएकी थिइन् । घाइते सम्बाहम्फेको उपचारका लागि धरान लैजाँदै गर्दा धनकुटाको भेडेटार पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कौशाल कुमार बुढाथोकीले जानकारी दिए । घाँस काट्न गएका उनीसँगै चार जना डडेलोमा फसेका थिए ।

जलेरी घाइते भएकी २८ वर्षीया सविना सम्बाहाफे, ११ वर्षीया शिवाना सम्बाहाफे र ६० वर्षीया निरमाया सम्बाहाफेलाई उपचारका लागि वीपी कोइराला मेमोरियल अस्पताल धरान पुर्‍याइएको छ । उनीहरुको अवस्था गम्भीर छ । सोही ठाँउको डडेलो निभाउन गएका ३१ वर्षीय खगेन्द्र विक लडेर घाइते भएका छन् ।

यस्तै फिदिम नगरपालिका–१३ र १४ को सिमानाको बनमा लागेको डडेलोमा परी ४७ वर्षीया नेम्बाङ राई गम्भीर घाइते भएकी छन् । दाउरा लिएर घर फर्किदै गर्दा उनलाई जंगलमा लागेको डढेलोको लप्काले भेटेको थियो । उनको पाँचथर जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि धरान पठाइएको छ ।

बिहीबार दिनभर पाँचथरका विभिन्न ठाँउमा आगलागी र डडेलोका घटना भएका छन् । केही दिन यता जिल्लाका विभिन्न ठाँउमा डडेलो लागेको प्रहरीले जनाएको छ । जंगलमा आगो लगाउने तीन जनालाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको बुढाथोकीले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया